पूर्वराजामाथि सरकारको कठोर कदम: सेवा-सुविधा खारेज गर्ने, राहदानी रद्द गर्ने तयारी

राजनीति समाचार

काठमाडौं – नेपाल सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खारेज गर्ने तयारी गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे गम्भीर छलफल भएको र प्रक्रिया अघि बढाउन निर्देशित गरिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार, हिजो काठमाडौँमा राजावादीहरुको प्रदर्शनका क्रममा भएको हिंसा र लुटपाटमा पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष संलग्नता रहेको ठहर गर्दै सरकारले कडा निर्णय लिने तयारी गरेको हो। सरकारको दाबीअनुसार, आन्दोलनलाई हिंसात्मक मोड दिनकै लागि पूर्वराजाले दुर्गा प्रसाईलाई कमाण्ड सुम्पिएका थिए र आन्दोलनको अघिल्लो दिन निर्मल निवासमा उनलाई विशेष निर्देशन दिएका थिए।

सरकारले पहिलो चरणमा पूर्वराजाको राहदानी रद्द गर्ने तयारी गरिरहेको छ। अनुसन्धान अघि बढ्दै जाँदा उनले विदेश पलायन हुनसक्ने आशंका गर्दै, पहिलो प्राथमिकताका रूपमा पासपोर्ट खारेज गर्न लागिएको एक मन्त्रीले बताए।

त्यसपछि, सरकारले पूर्वराजालाई प्राप्त सुरक्षा र अन्य सुविधासमेत फिर्ता लिने योजना बनाएको छ। यस कदमले नेपाली राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।