काठमाडौँ आइपुगे पूर्वराजा

समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार बिहान मनकामना मन्दिर दर्शनपछि गोरखा पुगेर फेरि काठमाडौँ फर्कने क्रममा कुरिनटारबाट गल्छी, विदुर पुगेर टोखाको बाटो उपत्यका प्रवेश गर्दा करिब ८ घन्टा आफैँ ड्राइभ गरेका छन्।

उनलाई विभिन्न स्थानमा हजारौँको भिडले स्वागत गरेको थियो। उनलाई खहरे,टोखालगायतका स्थानमा स्थानीयहरूले पुष्पगुच्छासहित स्वागत गरेको स्थानीयले देशसञ्चारलाई जानकारी दिएका छन्।

पूर्वराजालाई काठमाडौँ प्रवेश गरेपछि ग्रान्डी अस्पतालनजिकै पनि स्थानीयले स्वागत गरेका छन्।

आइतबार काठमाडौँ आउनुअघि गोरखाको उपल्लोकोटमा पूर्वराजा ज्ञानेन्द्र शाहको अभिषेक गरिएको छ।

मनकामना दर्शन गरी फर्किने क्रममा पूर्वराजा शाहको अभिषेक गरिएको हो। पूर्वराजा शाहको आयु आरोग्यका लागि अभिषेक गरिएको हो।

संस्कृतिविद् जगमान गुरुङले आफ्नो सल्लाहबमोजिम ललितपुरको लगनखेल निवासी माया वैद्यको संयोजकत्वमा अन्तर्राष्ट्रिय शक्ति साधक समूहले पूर्वराजा शाहको अभिषेक गरेको बताएका छन्।

हनुमानढोकास्थित कालभैरवका पुजारी विरनबज्र बज्राचार्यले बौद्ध परम्पराअनुसार उपल्लोकोटमा विराजमान बज्रभैरव भट्टारकको पूजा गरी हनुमानभञ्ज्याङमा अभिषेक गरेका हुन्।

त्यसक्रममा नेवाः परम्पराअनुसार पूर्वराजा शाहलाई अभिषेक, फूल र टिकासहित सगुन दिइएको थियो।

राजा पृथ्वीनारायण शाहको समयमा ज्ञानकर बाँडाले गोरखा, मनकामनामा आनन्दभैरवको साधना गरेर पश्चिमतिरको कटक (युद्ध) रोकेको बताइन्छ। सोहीअनुसार पूर्वराजा शाहको पनि मनकामना दर्शनपछि अभिषेक गरिएको हो।

उनको स्वागतका लागि बाटोमा ठाउँठाउँमा घडाहरूसमेत राखिएको थियो।

त्यही क्रममा पूर्वाराजा शाहको पक्षमा समर्थकहरूले नारासमेत लगाएका थिए।

सर्वसाधारणले मात्रै नभइ नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले पनि पूर्वराजाको पक्षमा नारा लगाएको बताइएको छ। नुवाकोटको विदुरमा माओवादी कार्यकर्ता रुपा अर्यालले पूर्वराजा शाहको पक्षमा नारा लगाएकी थिइन्।

यसअघि आइतबार बिहान पूर्वराजा शाहले गोरखाको मनकामना मन्दिर दर्शन गरेका छन्। पूर्वराजा शाहले आइतबार मनकामना मन्दिर पुगेर पूजाअर्चना गरेका हुन्।

उनी केवलकार चढेर मनकामना पुगेका हुन्। त्यसक्रममा स्थानीयले बाजागाजासहित पूर्वराजालाई स्वागत गरेका थिए। उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’लगायतका नारा लगाएका थिए।

पूर्वराजा शाहले मनकामना मन्दिर परिक्रमा गर्दै दर्शन गरेका थिए। उनले मनकामनामा करिब डेढ घण्टा बिताएका थिए।

उनले शनिबार गोरखाको गोरखनाथ मन्दिरमा पनि पूजा अर्चना गरेका थिए। त्यसक्रममा उनले आफ्ना पूर्खाको थलो गोरखा आउँदा खुशी लागेको बताएका थिए।