(प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ इतिहासविद् एवं संस्कृतिविद् हुन् । विशेषगरी काठमाडौं उपत्यकाका ऐतिहासिक, सांस्कृतिक सम्पदा एवम पोखरीहरुका बारेमा गहन अध्ययन गरेका छन् । यसै सिलसिलामा नेपाल न्यूज बैंकले प्रा.डा श्रेष्ठसँग भक्तपुरका ऐतिहासिक पोखरीहरुका सन्दर्भमा कुराकानी गरेको छ ।)
भक्तपुरमा कतिवटा ऐतिहासिक पोखरीहरु छन् ?
भक्तपुर पोखरीहरुको पनि सहर हो । झण्डै ५० वटा भन्दा बढी ऐतिहासिक, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका प्राचिन मध्यकालिन र पूर्व आधुनिककालिन पोखरीहरु छन् ।

ती पोखरीहरुको ऐतिहासिक महत्व के छ ?
खासगरी भक्तपुरको सर्वप्राचिन पोखरी भक्तपुर सहरको पश्चिमपट्टी रहेको ठूलो सिद्धपोखरी हो । वास्तुतन्त्र विधि अनुरुप बनेको त्यो पोखरी १२ औं शताब्दीतिर बनेको देखिन्छ । त्यतिबेला भक्तपुर समग्र नेपाल मण्डलको राजधानी नगरीका रुपमा आफ्नो रुप लिँदै थियो । त्यही क्रममा विभिन्न दरबार, जात जातिका मानिसहरु, संगीत, धर्म, संस्कृतिहरुले विकसित रुप लिइरहेका बेला पोखरी पनि स्थापित भएको पाइन्छ । वास्तवमा राजधानी नगर हुन के कति प्रावधानहरु चाहिन्छ, त्यसको परिपूर्तिका लागि राजधानी नगरलाई स्वभायमान बनाउन समेत सिद्धपोखरी राजधानी नगरको रुपका स्थापना हुने क्रमसँगै बनेको देखिन्छ ।
भक्तपुरलाई राजधानी नगरको रुपमा स्थापित गर्ने राजा आनन्ददेव हुन । आनन्द देवका दाजु इन्द्रदेवले आफ्नै नाममा त्यो पोखरी बनाउन लगाएको देखिन्छ । त्यसको प्राचिन नाम ‘इन्द्र दह’ हो । भगवान इन्द्रले स्नान गरेको पोखरी भएकाले इन्द्र दह नाम धार्मिक, सांस्कृतिक जीवनमा चलिआएको छ । त्यो बेग्लै कुरा भयो । तर ऐतिहासिक दृष्टिले पोखरी शक्तिशाली युवराज इन्द्रदेवको समयतिर नेपाल संवद् २३८ तिर बनेको देखिन्छ । त्यसबेला सबैभन्दा ठूलो पोखरी थियो । त्यसैले नेवा लोक जीवनमा पोखरीलाई ‘पुखु’ पनि भनिन्छ । आजसम्म पनि त्यो नाम चलिआएको छ । आठौं शताब्दीदेखि १२ औंसम्म सिद्ध तान्त्रिकहरुको युग थियो । सिद्ध तान्त्रिकहरुले जनजीवनमा पीर मर्काहरुलाई समेत बुझेर पन्छ्याउन सहयोग पु¥याए र तिनै आफ्ना अद्भूत कामहरुले जनजीवनमा ख्याती पाएको सिद्ध तान्त्रिकहरुको युगमा बनेको पोखरी भएकाले पनि अर्को नाम ‘सिद्धपोखरी’ रहन गएको देखिन्छ ।
पछिल्लो समय मल्ल कालमा आएर इन्द्रजात्राको समयतिर सिद्धपोखरीमा ठूलो मेला लाग्ने गर्छ । त्यसैगरी दशैंको समयतिर पनि हामी नवरात्र जाने परम्परा छ । नवरात्र जाने जुन एउटा संस्कृति छ, त्यस सन्दर्भमा ईन्द्रायणी सिद्ध हुने दिन सिद्धपोखरीमा इन्द्रायणीको रुपमा दर्शन पूजन गर्न जाने क्रम छ र ठूलो मेला लाग्छ । त्यस्तैगरी सिद्धपोखरीको ठिक दक्षिणपट्टी अर्को एउटा पोखरी छ । जुन ‘भाज्या पुखु’ नामले प्रसिद्ध छ । त्यो पोखरी १२औ शताब्दीतिर नै बनेको देखिन्छ । वास्तुतन्त्र विधि अन्तरगत नै बनेकाले सहरको स्वभा नै बढाउने त्यो सार्है सुन्दर पोखरी हो । पोखरीको माझमा शिखर शैलीको एउटा सुन्दर मन्दिर पनि बनेको थियो । त्यसको अलग्गै विशेषता छ । हाम्रो अध्ययनका आधारमा पोखरीको मध्य भागमा जलाशय भएकाले जलको मध्य भागमा सुरिलो शिखर शैलीको मन्दिर रहेको देखिन्छ । त्यो जलेश्वर महादेवको मन्दिर समेत बनेकाले पोखरी भक्तपुरको सान थियो । नेपाल सम्बत ७८१ तिर कान्तिपुर, ललितपुरका राजाहरु प्रताप मल्ल, श्रीनिवास मल्ल मिलेर भक्तपुरमा भयकंर आक्रमण गरे । तर भक्तपुर मजवुद थियो, त्यहाँका पर्खाल ढोकाहरु फोरेर सहर कब्जा गर्न नसकेपछि उनीहरु सहर बाहिर हुँदै ‘भाज्या पुखु’ पनि कब्जा गर्न पुगे । त्यहाँ उनीहरुले शैनिक छाउनी शिविर खडा गरे । त्यहाँको मन्दिर पनि भत्काए र पोखरी पनि बिगारे । त्यहाँका महत्वपूर्ण सुन्दर कलाकृतिहरु उठाएर विशेष गरेर प्रताप मल्लले लगे ।
सल्लाघारीमा रहेको रानी पोखरीका कलाकृतिहरुलाई बिगारेर उठाएर लगे र हनुमान ढोका राजदरबार सजाए । यसरी प्रताप मल्लको कारण भाज्या पुखुको वास्तुशैली धेरै नै प्रभावित भएको देखिन्छ । त्यसैबाट प्रभावित भएर प्रताप मल्लले कान्तिपुरको हनुमानढोका राजदरबारको पूर्वपट्टि एउटा पोखरी बनाउन लगाए । जुन पोखरी भक्तपुरको भाज्यापुखु भन्दा आकारमा ठूलो देखिएको छ । त्यो मन्दिरको पनि मध्य भागमा एउटा शिखरशैली, भाज्यापुखुकै मन्दिरको शैली अनुरुप मन्दिर बनाउन लगाएको पाइन्छ । कान्तिपुरको रानीपोखरी भक्तपुरको भाज्यापुखुकै अर्को अनुकरण हो भन्ने बुझ्न सकिन्छ । भक्तपुरमा यति महत्वका अनेक पोखरीहरु छन् ।
जहाँसम्म सिद्ध पोखरीकै कुरा छ पोखरीको पूर्वपट्टी फाँटमा प्राचिन मूर्तिहरु छन् । त्यसमध्ये चौथौं शताब्दीको अन्त्यतिरको ब्रम्हामुर्ति छ । नेपालमा हालसम्म रहेका प्राचिन ब्रम्हाका मुर्तिहरुमा सर्वप्राचिन भक्तपुरको पूर्वपट्टी ब्रम्हाका मुर्तिहरुसँगै गणेशका मुर्तिहरु पनि छन् । १२औं शताब्दीतिर देखिने शिलालेख पनि छन् । तर शिलालेख एउटा खाली शरीर मात्र छ । त्यसको आत्मा त उडिसक्यो, भन्न खोजेको कुरा के हो भने, शिलालेखमा रहेका अक्षरहरु सबै नै मेटिसकिएका छन् । अलिकति भएपनि वा एकदुई अक्षर पनि पढौं भने रंगहरु पोतिएकाले पढ्न सक्ने अवस्था छैन । त्यसमा रहेका आकृतिहरुलाई हेर्दा १२औं शताब्दीको देखिन आउँछ । लाग्छ सिद्धपोखरी १२ औं शताब्दीमा राजधानी नगरको रुपमा पूर्वाधारहरु बनाउने क्रमसँगै सिद्धपोखरी पुनःनिर्माण भएको जस्तो पनि लाग्छ । यो पोखरीको अस्तित्वलाई प्राचिनकालदेखि लिच्छिविकालतिर लान सकिन्छ । सिद्धपोखरीलाई ३६४ को कालखण्डमा पर्खालले घेर्ने काम भएको थियो । पछिल्लो कालमा भीमसेन थापाको समयमा पोखरीको पुनःनिर्माण भएकोे देखिन्छ । पछिल्लो समयमा आएर राजा महेन्द्रको समयमा पनि पोखरीको जिर्णोद्धार भएको देखिन्छ ।
पहिला त्यहाँ शिलालेख थियो । तर अहिले त्यो देखिँदैन । उनको राज्यअभिषेकको समयमा पोखरीको जिर्णोद्धार गरेको देखिन्छ । त्यसपछि पछिल्लो समयमा आएर झारपातले भरिएर पोखरी डरलाग्दो देखिएको थियो । पछि भक्तपुर नगरपालिकाले स्थानीय स्रोत, साधन र सीपको प्रयोग गरेर पोखरीको मुहारै फेरिदिएको छ । नेपालका सुन्दर पोखरीमध्ये सिद्ध पोखरीलाई लिन सकिन्छ ।
भक्तपुरमा अन्य पोखरीहरु पनि छन्, जस्तै, भक्तपुर सहरको पूर्वतिर ‘यातु बहारे पुखु’ नामले प्रसिद्ध छ । त्यस्तै कालदह, लामगाहा, भक्तपुर राजदरबार भित्रै पनि राजकीय महत्व पाएका पोखरीहरु छन् । कतिपय पोखरीहरु नियतीको मारमा लोप पनि भइरहेका छन् । लोप भइरहेका पोखरीहरुलाई स्थानीय सरकार र नागरिकहरुले जगेर्ना गर्नुपर्छ । पोखरीहरु सुन्दरताका लागि मात्र नभइ आकस्मिक प्रयोगका लागि पनि हो । पूजाआजाको लागि पनि पोखरी चाहिन्छ । जतिपनि ठूलाठूला पोखरीहरु छन् यी सबै धार्मिक, सांस्कृतिक महत्वका छन् । आजसम्म पनि जीवन्तता पाउँदै आएको देखिन्छन् ।
ठूला पोखरीहरु बाहेक नगरभित्र पनि थुप्रै पोखरीहरु छन् । तीनिहरु चर्चामा आउन नसकेका हुन् कि के हो ?
वास्तवमा चर्चामा आउन नसकेका पनि हुन् । कतिपय अध्ययन अनुसन्धानका दायरामा नपरेका कारणले र सामाजिक सञ्जालको दृष्टिमा नपरेकाले पनि ओझेलमा परेका देखिन्छन् । यसका साथै कतिपय पोखरीहरु लोप पनि भएर गइसकेका छन् । तर केही पोखरीहरु कुनै न कुनै रुपमा अझै पनि अस्तित्वमा छन् । ती पोखरीहरु अहिले पनि धार्मिक, सांस्कृतिक प्रयोजनमा आइरहेको छ । जस्तै सहरको पश्चिमतर्फ ‘न पुखु’ छ । त्यो पोखरी असाध्यै फोहोर थियो र भक्तपुर नगरपालिकाले त्यो पोखरीलाई पनि पुनःजीवन प्रदान गरेको छ । सारै सुन्दर पोखरीको रुपमा देखिएको छ । त्यो पोखरी पनि पूर्व मध्यकालतिर नै बनेको देखिन्छ । रातको समयमा बनेको पोखरीको नाम ‘नक पोखरी’ भनिएको छ । ६ सय वर्ष अगाडि, गोपालराज वंशावलीमा रातको समयमा त्यो पोखरीको तान्त्रिक विधिपूर्वक प्रतिष्ठा गरेको कुरा पनि आएको छ ।
यसरी खोज्दै जाने हो भने भक्तपुरमा पोखरीहरु धेरै भेटिन सक्छन् तर हाम्रो अध्ययनमा ५० वटा भन्दा पनि बढी पोखरीहरु छन् । हाल अस्तित्वमा रहेका सहरभित्र र बाहिर गरेर समग्रमा लगभग दुई दर्जन जति पोखरीहरु अहिले अस्तित्वमा होलान् ।
अहिले अस्तित्वमा रहेको पोखरीहरुलाई लोप हुन नदिनको लागि के गर्नुपर्छ जस्तो लाग्छ ?
अहिले एउटा खुसीको कुरा छ । किनभने हाम्रो सम्पदा, हाम्रो पहिचान हो भन्ने कुरालाई यहाँका युवा पुस्ताहरुले बुझिसकेका छन् । त्यो राम्रो पक्ष हो । भक्तपुरमा सुरु भएको यो लहर नेपालभर नै जाओस् । र सम्पदा हाम्रो पहिचान हो, सम्पदाको संरक्षण, संवद्र्धन गर्नुपर्छ भन्ने एउटा भावना विकास होस । यहाँका सम्पदाहरुको संरक्षण गर्नको लागि एउटा इंटा र ढुंगा पनि यताउती पार्दैनन् । सम्पदा बचाउनु पर्छ भन्नेतिर लागेका छन् । पोखरी मात्र नभइ ढुंगेधारा, जलद्रोनीहरु र जलसँग सम्बन्धित सम्पदाहरु मात्र नभइ अनेक सम्पदाहरु पनि संरक्षण गर्नेतर्फ लागेका छन् । किनभने त्यो हाम्रो पहिचान हो र एउटा गौरव एवम शानको कुरा पनि हो । आजको संसार पर्यटनसँग जोडिएको छ । संसारको कुना काप्चाबाट यस्ता सम्पदाहरु हेर्न पर्यटकहरु आउँछन् । त्यसकारण सम्पदाहरुलाई मात्र बचाएर राख्न सक्यौं भने भोलिका पुस्ताहरुलाई दिने एउटा अनुपम नासो हुन सक्छ ।
पोखरीहरुको सुधार र संरक्षण गर्ने क्रममा ऐतिहासिक महत्वका वस्तुहरु लोप हुदैँ गए भन्ने गुनासाहरु आइरहेका छन् नि ।
यी मूर्त सम्पदाहरुहरु संरक्षण गर्नुपर्छ भन्ने कुराको चेतना सर्वसाधारणमा आइसकेका छ । ऐतिहासिक, पुरातत्विक र धार्मिक महत्वका सम्पदाहरु चाहे भौतिक होस् वा अभौतिक हुन् । यी सबै हाम्रो पहिचान र संस्कृती हो । यसलाई बचाउनुपर्छ भन्ने लहर चलि आएको छ । यसले भोलीका दिनमा शिलालेखहरुमा कसैले पनि रंग लगाउन जादैँनन् । यस्ता शिलालेखहरु बचाउनेतर्फ युवाहरु लागेकै छन् र हामी त्यो आशा पनि गर्छौ ।
हाम्रो चाँगुमा एउटा मूर्ति छ त्यो मूर्तिको शिर मात्रै छ । उसको शरीर छैन्, त्यो पाँचौ शताब्दीदेखि आएको मूर्ति हो । त्यस्तो मूर्ति विश्वमा हाम्रो भक्तपुरको चाँगुमा बाहेक अन्त छैन् । त्यो मूर्ति अर्धपुरुषेश्वरको हो । दाँयातिर शक्ति र प्रकृती छ, बाँया तिर शिव वा पुरुष छ । यो अर्धपुरुषेश्वरको मूर्ति हो, अर्धनारीश्वरको होइन् । यसले के देखाउँछ भने मूर्ति प्रमाणका आधारमा के लाग्छ भने पाँचौ शताब्दीभन्दा अगाडिसम्म पनि समाज मातृपरक समाज थियो । मातृप्रधान समाज थियो । पछि पुरुषप्रधान हुदैँ गयो । यस्ता दुर्लभ सम्पदाहरु हाम्रो देशमा छन् । यस्ता सम्पदाहरुलाई हामीले बचाउनुपर्छ भन्ने एउटा वैचारिक क्रान्ति वा लहर आएको छ । बोलीमा भनेका कुरा जनजीवनले व्यवहारमा देखाउने हो भने यो सम्पदालाई संरक्षण गर्न सकिन्छ ।
भक्तपुरमा रहेको कमल पोखरी जुन छ यो पनि एउटा प्रसिद्ध पोखरी हो । यसको महत्वबारे हजुरलाई केही जानकारी छ ?
पोखरीको बारेमा भन्दैगर्दा कमल पोखरीको बारेमा भन्न बिर्सिएछु । कमल पोखरी नेवा लोक जीवनमा सांस्कृतिक जीवनमा चलेको नाम ‘यातु बहारे पुखु’ हो । कमलको फुल फुल्ने विषेशताले पोखरीलाई कमलपोखरी भनिएको हो । कमलपोखरीको पूर्वपट्टी जोडी चैत्य छन् ति चैत्य १६ औं शताब्दीतिर गंगालक्ष्मी या गंगा महारानीले भक्त्तपुरमा प्रसिद्ध छ । त्रिभुवन मल्ल, त्रैलोक्य मल्ल र गंगा रानीको संयुक्त शासनकालमा बनेको चैत्य हो भनिएको छ । सँगै गणेशको मन्दिर पनि छ, त्यहाँ देवालीका मुर्तिहरु पनि छन् । मानिसहरु पोखरीको पवित्र जल लिएर आफ्नो देवाली पूजा गर्न जाने चलन पनि छ । त्यो पोखरी त्यहाँ भन्दा अगाडि रहेको देखिन्छ । गोपालराज वंशावली आजभन्दा ६०० वर्ष अगाडि लेखिएको जयस्थिती मल्लको समयमा सम्पादन गरिएको गोपालराज वंशावलीमा पनि पोखरी उल्लेख गरिएको देखिन्छ ।
भक्तपुरमा रहेको केही पोखरीहरु रहस्यमय तरिकाले पनि निर्माण भएको भन्ने सुन्नमा आएको छ । यसमा कतिको सत्यता छ ?
तथ्य, सत्य त लोकजीवनमा आफ्नै ठाँउमा होला । म विद्यार्थी छँदा स्कुलमा पढदा धेरै बदमास थिए । स्कुलबाट भागेर पौडी खेल्न जान्थौं । पौडी नखेलेको भक्तपुरमा कुनै पनि पोखरी छैन । खोला पनि छैनन् । हनुमान घाटमा डाइभ हान्थौ । तर अहिले त्यो डाइभ हान्ने स्थिती छैन् । राम मन्दिरमा मंगल तिर्थमा डाइभ हान्थौं । अहिले कहाँ शुद्ध पानी पाइन्छ त, कमलपोखरीमा पनि पौडी खेलियो । सिद्धपोखरीमा त पुरै जीवन बित्यो । पौडी खेल्न सिकेकै सिद्धपोखरीबाट हो । झार, घाँसले दिउसो मान्छे जान डराउथे । त्यहाँ भीमसेन थापाले राखेको डुङगा थियो ।
त्यो विग्रेको डुङगामा हामी पानीमुनी डुब्थौ । त्यतिबेला पाँच टाउके नागले तानेर लैजान्छ भनेर कहानी सुनेका थियौं । त्यहाँ लामो समयसम्म डुबुल्की मार्दापनि नागले नतानेको कथा आफैमा महत्व मात्र छ । अव सिद्धपोखरीमा ठिमीमा मानिसहरु जान हुँदैन भन्ने मान्यता पनि छ । श्रीमतीलाई नाग हेर्ने इच्छा भएर तान्त्रिकले अक्षता फुकेर हिर्काएछन्् । भयकंर नागको रुप धारणा गरेछन् । श्रीमतीले साधन गरेको अक्षता हान्न विर्सेछन् । तिनी भागिन् । सिद्धपोखरीको अर्को नागलाई उनले मारे । यस्तै कथाहरु छन् । हरेक पोखरीहरुको हरेक सम्पदाहरुको आफ्नै कथा रहेको पाइन्छ । त्यो कथा नै मूर्तिको वा सम्पदाको संविधान हो । किनभने नेपाल त किंवदन्तीहरुको कथै कथाको देश हो । पोखरीहरुसँग पनि कथाहरु जोडिएको छ ।
– सबिता नयाँजू ÷नेपाल न्यूज बैंक
