चैत महिनाका लागि बैंकहरूको नयाँ ब्याजदर: कसको बढ्यो, कसको घट्यो?

अर्थ समाचार

काठमाडौं: अधिकांश वाणिज्य बैंकहरूले चैत महिनाका लागि फागुन महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन्। यस अवधिमा तीन बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने १७ बैंकले अघिल्लो महिनाकै दरलाई कायम राखेका छन्। ब्याजदर घटाउने बैंकहरूमा लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, र हिमालयन बैंक रहेका छन्।

फागुनको तुलनामा चैत महिनामा मुद्दति निक्षेपको औसत ब्याजदर ०.०८ प्रतिशतले घटेर ५.९३ प्रतिशत कायम भएको छ। फागुन महिनामा वाणिज्य बैंकहरूको औसत ब्याजदर ६.०१ प्रतिशत थियो।

ग्लोबल आइएमई बैंक, कुमारी बैंक र सिटिजन्स बैंकले आफ्नो व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा वृद्धि गरेका छन्। ग्लोबल आइएमई बैंकले ब्याजदरलाई ५.७५ प्रतिशतबाट ६ प्रतिशतमा बढाएको छ, कुमारी बैंकले ५.३१ प्रतिशतबाट ६.०१ प्रतिशतमा वृद्धि गरेको छ, र सिटिजन्स बैंकले ५.५ प्रतिशतबाट ५.८५ प्रतिशतमा बढाएको छ।

त्यसैगरी, हिमालयन बैंक र नेपाल बैंकले आफ्नो ब्याजदर घटाएका छन्। हिमालयन बैंकले ब्याजदरलाई ६.२५ प्रतिशतबाट ५.५ प्रतिशतमा घटाएको छ, र नेपाल बैंकले ५.६० प्रतिशतबाट ५.५० प्रतिशतमा घटाएको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर न्यून विन्दुमा पुगेको हो। तर, कर्जा प्रवाह भने अझै सुस्त नै छ। ब्याजदर घट्दा कर्जा लिनेहरूलाई राहत मिल्ने भए पनि लगानीको वातावरणमा उल्लेखनीय सुधार भएको छैन।

बैंकहरू झन्डै डेढ वर्षदेखि लगातार ब्याजदर घटाउँदै आएका छन्, तर अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन।