संविधान भित्रैबाट विकल्पको राजनीति खोज्न सकिन्छः डा. मिनेन्द्र रिजाल

राजनीति

नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले नेपालले चीन र भारतबाट प्राप्त गरेको भूराजनीतिक अवसरलाई महशुस गर्न राजनीति गर्ने तरिका बदल्नुपर्ने बताएका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बुधबार काठमाडौंमा गरेको नयाँ युगको कार्यभार : वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । रिजालले राजनीति गर्ने  पुरानै तौरतरिकाका कारण राष्ट्रिय राजनीतिमा सधैँ विकल्पको राजनीति खोज्नु पर्ने बाध्यता हुने बताए । उनले नेपालमा भारतलाई खुशी बनाएर वा घुक्र्याएर सत्तामा पुग्ने गरेको भन्दै नेपाली राजनीतिलाई कारोबारी राजनीतिको संज्ञा दिए ।

नेपालले चीन वा भारतको नजिक वा टाढा भन्दा पनि भूराजनीतिक हिसावले आफ्नो राजनीतिक प्रणालीमा दृढसङ्कल्पित हुनुपर्ने उनको भनाइ छ ।

नेता डा. रिजालले विकल्पको राजनीति प्रणाली पनि वर्तमान संविधान भित्रैबाट खोज्न सकिने बताए ।