कुलमानको स्पष्टीकरण पत्र क्याबिनेटमा मात्रै खोलिने

समाचार

पाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुझाएको स्पष्टीकरणको पत्र मन्त्रिपरिषद्ले खोल्ने भएको छ ।

मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको, त्यसमा शून्य अंक पाएको र प्राधिकरणको नाफा ‘फेक’ देखाएर प्रचार गरेको लगायतका आधारमा गत बिहीबार मन्त्रिपरिषद्ले कुलमानलाई प्रस्टीकरण सोधेको थियो ।

गत बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो । मन्त्रिपरिषद्को त्यही निर्णयअनुसार ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यमार्फत कुलमानलाई ७२ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

मन्त्रिपरिषद्ले कुलमानलाई ‘पदबाट किन नहटाउने’ भनी सोधेको स्पष्टीकरणको जवाफसमेत आइतबार ऊर्जा मन्त्रालयमार्फत पठाइसकेका छन् । कुलमानको स्पष्टीकरण ऊर्जा मन्त्रीले नभई अब मन्त्रिपरिषद्ले खोल्ने र निर्णय गर्न तयारीमा सरकार लागेको छ ।