इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ। कम्पनीले सोमबार भएको सम्झौताको क्रममा सजिलो नेटले देशभरका परिवारहरूसँगको सम्बन्ध अझ प्रगाढ बनाउन पंगेनीलाई एम्बासडर बनाएको घोषणा गरेको छ ।
लोकसंगीत क्षेत्रमा अत्यधिक लोकप्रिय बद्री पंगेनी आफ्ना सन्देशमूलक तथा भावनात्मक गीतहरू मार्फत लाखौँ नेपालीको मन जित्न सफल गायक हुन्। नेपाली संगीत र संस्कृतिमा गहिरो प्रभाव पार्न सफल उनले सजिलो नेटको प्रतिनिधित्व गर्नु उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ ।सजिलो नेट उच्च गतिको भरपर्दो इन्टरनेट सेवा सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढिरहेको छ ।


सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत सतीश कार्कीका अनुसार, “इन्टरनेट केवल प्रविधिसँग सीमित छैन; यो हाम्रो संस्कृति, परम्परा र जनजीवनलाई जोड्ने महत्वपूर्ण माध्यम पनि हो । जस्तै बद्री पंगेनीको संगीतले नेपालीहरूको मन जोड्छ, त्यस्तै सजिलो नेटले सरल, सुलभ र सुपथ इन्टरनेट सेवा प्रदान गर्दै सबैलाई जोड्ने प्रयास गरिरहेको छ।”
ब्रान्ड एम्बासडरको रूपमा नियुक्त भएपछि बद्री पंगेनीले आफ्नो उत्साह व्यक्त गर्दै भने, “इन्टरनेट अहिलेको जीवनशैलीको अभिन्न अङ्ग बनिसकेको छ। सजिलो नेटले सहज र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको हुनाले म यस ब्रान्डसँग जोडिन पाउँदा निकै खुसी छु।”
सजिलो नेटले आधुनिक इन्टरनेट सेवा विस्तार गर्दै उच्च गुणस्तरीय, सुलभ र सुपथ इन्टरनेट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्य राखेको छ। बद्री पंगेनीसँगको सहकार्यले ब्रान्डलाई अझ बलियो बनाउने विश्वास रहेको कम्पनीले जनाएको छ ।
