पूर्वराजाको स्वागतमा यी ठाउँबाट निस्किँदै छन् र्‍याली

राजनीति

एक महिना पोखरा बसाइपछि आज दिउँसो काठमाडौं आउँदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विभिन्न राजावादी दल र संघ/संस्थाले काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शनको तयारी गरेका छन् । पूर्वराजा शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिँदै छन् । त्यस क्रममा राजावादीहरूले धूमधाम स्वागत गर्ने तयारी गरेका छन् । राजावादीहरूले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने भएका छन् । त्यसपछि पूर्वराजा शाह विमानस्थलबाट महाराजगन्जस्थित निर्मल निवास जानेछन् । राजावादीहरू पनि उनलाई पुर्‍याउन र्‍यालीसहित निर्मल निवाससम्म पुग्ने छन् ।

विशेषगरी राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्ना कार्यकर्ताहरूलाई बेग्लाबेग्लै उतार्ने तयारी गरेका छन् । उनीहरूलाई राष्ट्रिय झन्डा, फूलमाला र पूर्वराजाको तस्बिर अंकित ब्यानर एवं पम्प्लेटसहित उपस्थित हुन भनिएको छ । यस्तै, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाजलगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन् ।

आजको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित हुने भएका छन् । राप्रपाबाट स्वागतको चाँजोपाँजो मिलाएका सांसद ज्ञानेन्द्र शाहीका अनुसार, ललितपुर, कीर्तिपुर, काभ्रे, भक्तपुर, नागार्जुनतर्फबाट आउनेहरूको र्‍याली तीनकुनेमा जम्मा हुने छ । त्यहाँबाट र्‍याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।

यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बुढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोटबाट आउनेहरू महाराजगन्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला हुनेछन् । त्यहाँबाट र्‍याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।

यसैगरी विभिन्न समूहहरूले जावलाखेल, चापागाउँ, च्यासल, इमाडोल कृष्ण मन्दिर लगायतका स्थानबाट पनि र्‍याली निकाल्ने भएका छन् ।

राजावादीहरूको स्वागतमा विभिन्न दल र समूहहरू सडकमा उत्रिने भएपछि काठमाडौँको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरूलाई ‘हाई अलर्ट’मा राखिएको छ ।