ग्लोबल आर्थिक अनिश्चितताका बीच २०२५ मा GCC को आर्थिक वृद्धि कायम रहने: स्ट्यान्डर्ड चार्टर्ड ग्लोवल मार्केट प्रिडीक्सन

अन्तराष्ट्रिय समाचार

दुबई: स्ट्यान्डर्ड चार्टर्डले शुक्रवार २०२५ का लागि आफ्नो  ग्लोबल मार्केट  पूर्वानुमान सार्वजनिक गरेको छ। २०२५ मा खाडी सहयोग परिषद (GCC) क्षेत्र विश्वव्यापी आर्थिक वृद्धिका लागि दरीलो क्षेत्र रहने रिपोर्टले जनाएको छ । विश्वव्यापी वृद्धि ३.२% बाट घटेर ३.१% हुने अनुमान भए तापनि, GCC क्षेत्रले आफ्नो मजबुत गैर-तेल क्षेत्रको वृद्धि र रणनीतिक लगानीद्वारा राम्रो प्रदर्शन गर्ने अनुमान स्ट्यान्डर्ड चार्टर्डको रिपोर्टमा बताइएको छ |

रिपोर्टमा GCC क्षेत्रले दीर्घकालीन सुधारमा ध्यान दिएको र यसले धेरै आर्थिक चुनौतीहरूबाट आफुलाई सुरक्षित राखेको छ। गैर-तेल क्षेत्रहरूमा लगानी र निजी क्षेत्रको लागि अनुकूल वातावरणले २०२५ मा यस क्षेत्रको वृद्धि कायम राख्न मद्दत गर्नेछ। रिपोर्टमा भनिएको छ  यहाँको ब्याज दर कम हुनुका कारण साउदी अरेबिया, यूएई र कतारमा उद्योगहरूलाई थप फाइदा पुग्नेछ। यसको बिपरित मध्य पूर्वका केही अन्य मुलुकहरू जस्तै इजिप्ट र लेबनान क्षेत्रीय द्वन्द्वका कारण दबाबमा छन्, GCC भने अझै मजबुत र सुरक्षित अवस्थामा रहेको स्ट्यान्डर्ड चार्टर्डको रिपोर्टमा बताइएको छ |

स्ट्यान्डर्ड चार्टर्डका एशा अब्बास, म्यानेजिङ डाइरेक्टर र हेड अफ अफ्लुएन्ट एन्ड वेल्थ सोल्युसन्स, युरोप, मिडल ईस्ट र अफ्रिका, र यूएई बताउछन , “वैश्विक आर्थिक अनिश्चितताका बीच GCC एक उज्जवल क्षेत्रको रूपमा रहेको छ, जसले दरिलो र लचिलो आर्थिक प्रगतीको उदाहरण प्रस्तुत गरेको छ। यसको दीर्घकालीन सुधार र गैर-तेल क्षेत्रको अवसरहरूलाई उपयोग गरेर यो क्षेत्र दिगो र स्थिर वृद्धिको बाटोमा अघि बढ्दैछ।”

स्ट्यान्डर्ड चार्टर्डको रिपोर्टले विश्वव्यापी अर्थतन्त्र भने अमेरिकी निर्वाचनका कारण चुनौतीपूर्ण अवस्थामा रहने अनुमान गरिएको छ। राष्ट्रपति-निर्वाचित ट्रम्पका नीतिहरूले अमेरिका र अन्य मुलुकहरूको अर्थतन्त्रमा असर पार्न सक्ने रिपोर्टमा बताइएको छ |