
नेपालका १८औं प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१२ माघदेखि २०१४ असारसम्म देशको बागडोर सम्हालेका थिए । उनले छोरालाई पनि राजनीतिमा आउन प्रेरित गरेका थिए । तर पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यका कान्छा छोरा वीरभद्र पशुपालनमा रमाएका छन् ।
तीन वर्ष अघि गैंडाकोट नगरपालिका–१३ सिख्रौलीमा ब्यवसायिक बाख्रा फार्ममा ३०० वटा अष्ट्रेलियन बोयर बाख्रा छन् । उनले आफ्नै नामको एक विघा जमिनमा खोरहरु बनाएका छन् । प्रोटिनयुक्त घाँस लगाउन आठबिघा जमिन भाडामा पनि लिएका छन् ।
उनि काठमाडौंमा कुनै कुराको अभाव भएर वा अवसर नपाएर बाख्रापालनमा होमिएका भने होइनन् । उनले अमेरिका र नेपालमा कन्सल्ट्यान्टको बिभिन्न जागिर खाएक पनि थिए ।
आचार्यको बगैंचा फार्म हाउस एण्ड रिर्सोट प्रालिमा १७ जना साझेदार छन् । फार्म हाउसका आठ कर्मचारीमध्ये दुईजना जेटिए छन् । कम्पनीले झापा, ओखलढुंगा, रामेछाप, तनहुँ, बैतडी र बुटवलका आठ स्थानमा बाख्रापालन गरिरहेको छ ।
सिख्रौलीको फार्ममा अष्ट्रेलियाबाट ल्याइएको १४ माउ र चारवटा बोकाबाट बोयर बाख्रा उत्पादन गरिएको छ । फार्म हाउसले बार्षिक २०० पाठापाठी बेच्ने गरेको छ ।
सरकारी तथ्याङ्क अनुसार नेपालमा मासुको उत्पादन वार्षिक ३५ लाख मेट्रिकटन मात्र छ । यसबाट २० प्रतिशत मात्र बजारको माग पुरा गर्छ । बाँकी आयात गर्ने गरिन्छ । छिटो बढ्ने, बोसो र कोलेस्ट्रोल कम हुने हुँदा बजारमा बोयरको मासुको माग बढ्दो छ । फार्ममा बाख्रा पालक किसानहरुले ‘बुकिङ’ गरेको छमहिनामा बोका पाउने गरेका छन् ।



