भारतको ओडीसा राज्यको राजधानी भुवनेश्वर यतिबेला अक्रान्त बनेको छ। कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएपछि भुवनेश्वर अक्रान्त बनेको हो।नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमै मृत भेटिएपछि नेपाली विद्यार्थीहरू आइतबार रातिदेखि नै प्रदर्शन गरिरहेका छन्। उनीहरूले मृतक प्रकृतिको न्याय माग्दै युनिभर्सिटी परिसरमा रातभर प्रदर्शन गरेका हुन्।
विश्वविद्यालय प्रशासन र त्यहाँको प्रहरीले सबुत प्रमाण मेटाउनसक्ने भन्दै प्रकृतिको न्यायका लागि नेपाली विद्यार्थीहरूले रातभरि प्रदर्शन गरिरहेको बिद्यार्थीहरुले बताएका छन् ।
भर्खरै यसै बिषयमा KIIT ले आधिकारिक अपील जारी गरेको छ ।

जारी अपिलमा लेखिएको छः
हिजो साँझ ढिलो किआइआइटी (KIIT) क्याम्पसमा दुर्भाग्यपूर्ण घटना भएको थियो। उक्त घटनापछि प्रहरी प्रशासनले तत्काल अनुसन्धान गरी दोषीलाई नियन्त्रणमा लिएको छ।
किआइआइटी प्रशासनले क्याम्पस र होस्टलहरूमा शान्ति पुनर्स्थापना गर्न तथा शैक्षिक गतिविधिहरू सुचारु गर्न हरसम्भव प्रयास गरिरहेको छ।
हाम्रा सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई, जो क्याम्पस छोडेर गइसकेका छन् वा जाने योजना बनाइरहेका छन्, पुनः क्याम्पस फर्केर कक्षाहरू नियमित गर्न अपिल गरिन्छ।
यस अघि क्याम्पसको के थियो तर्क? नेपाली विद्यार्थीले तनाव दिए, त्यसकारण घर जान सल्लाह दियौं।
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी-टेक पढिरहेकी नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि कलेजले घटनाको ढाकछोप गर्न खोजेको छ ।
छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसअघि उनले निरन्तर भोगिरहेको दुर्व्यवहारबारे केआईआईटीले विज्ञप्ति जारी गरेर भनेको छ, ‘ हाम्रो प्रशासनले नेपाली विद्यार्थीको मृत्युको घटनालाई लिएर १० घण्टादेखि शान्तिपूर्वक धेरै पटक परामर्श गर्न खोज्यो, शान्तिपुर्वक सम्झाउन खोज्यो । तर नेपाली विद्यार्थीहरूले कानुनलाई उल्लंघन गर्दै कलेजमा तनाव सिर्जना खोजे। उनीहरूले सार्वजनिक सडकमा पनि १ घण्टा अवरूद्ध गरेर थप तनाव दिए ।’
यतिमात्रै होइन कलेजले मृत्युको घटनालाई सहज र पूर्वाग्रहरहीत तरिकाले अनुसन्धानलाई निरन्तरता दिन नेपाली विद्यार्थीलाई घर जान सल्लाह दिएको बताएको छ । ‘ घटनाको बारेमा निष्पक्ष भएर छानबिन नहुँदासम्मका लागि हामीले नेपाली विद्यार्थीलाई तत्काल स्थानीयहरूको सहयोगमा घर जान सल्लाह दिएका हौं।’

