काठमाडौं : बैंकहरूको बेस रेट लगातार घट्दै छ, जसले वित्तीय क्षेत्रमा नयाँ तरंग ल्याएको छ। माघ महिनामै औसत बेस रेट ६.८१ प्रतिशतमा झरेको छ, जुन पुस महिनाको ७.०२ प्रतिशतभन्दा ०.२१ प्रतिशत विन्दुले कम हो। निक्षेप ब्याजदर घट्दै जाँदा बैंकहरूको आधार दर पनि क्रमशः तल झर्दै गएको छ, जसको प्रत्यक्ष प्रभाव कर्जाको ब्याजदरमा पर्नेछ। यो गिरावट बैंकिङ प्रणालीमा तरलता वृद्धि र ब्याजदर प्रतिस्पर्धाको संकेत हो, जसले कर्जा माग लाई केही राहत दिने अपेक्षा गरिएको छ तर बेस रेट लगातार घट्दा समेत अहिले बजारमा क्रेडिट डिमाण्ड बढ्न सकिरहेको छैन ।
बैंकहरूको बेस रेट
स्टान्डर्ड चार्टर्ड बैंक – ५.१९%
राष्ट्रिय वाणिज्य बैंक – ५.६४%
एभरेष्ट बैंक – ५.६६%
एनआइसी एसिया बैंक – ७.७५%

माघ महिनामा ३ बैंकको आधार दर ६ प्रतिशतभन्दा न्यून हुन् पुगेको छ । सबैभन्दा कम बेस रेट स्टान्डर्ड चार्टर्ड बैंकको ५.१९ प्रतिशत छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.६४ प्रतिशत र एभरेष्ट बैंकको आधार दर ५.६६ प्रतिशत छ । ७ बैंकको आधार दर ७ प्रतिशतभन्दा कम छ । सबैभन्दा धेरै आधार बेस रेट हुनेमा एनआइसी एसिया बैंक रहेको छ । यसको यस्तो रेट ७.७५ प्रतिशत छ ।
बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि, बैंकहरूले लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको आधार दर पनि क्रमशः घट्दै गएको छ। आधार दरमा निश्चित प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने भएकाले, आधार दर घट्दा कर्जाको ब्याजदर पनि स्वाभाविक रूपमा घट्ने गर्छ।
