नेपाल भ्रमण वर्ष २०२५’को घोषणा

पर्यटन

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’को आज शुभारम्भ भएको छ।

भक्तपुर दरबारस्क्वायमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले संयुक्त रूपमा भ्रमण वर्षको उद्घाटन गरे।

कार्यक्रममा मन्त्री खड्काले अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रूपमा रहेको बताए। उनले दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउँदै कोभिड महामारीपश्चात् नेपालको पर्यटन क्षेत्र चलायमान बनिरहेको उल्लेख गरे।

अहिले सुरु गरिएको भ्रमण वर्षले नेपाल र चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास मन्त्री खड्काले व्यक्त गरे।

“पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका काम भइरहेकाका छन्”, उनले भने, “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुका साथै त्रिभुवन विमानस्थल र अन्य आन्तरिक विमानस्थलको स्तरोन्नति र विस्तार कार्य भइरहेको छ।”

नेपालको सामाजिक, आर्थिक विकासमा पर्यटन क्षेत्रको सम्धावना र महत्वलाई ध्यानमा राख्दै नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएर योजनाबद्ध रूपमा काम गरिरहेको मन्त्री खड्काले जानकारी दिए।

प्रदेश र स्थानीय तहले पनि पर्यटन क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको साझा माध्यमका रूपमा प्राथमिकतामा राख्दै आएका उनले बताए।