नेपालको पर्यटन प्रवद्र्धन गर्दै आर्थिक समृद्धिको बाटो खोल्ने हाम्रो दृढ संकल्प हो: अध्यक्ष चन्द्र ढकाल

अर्थ पर्यटन समाचार

चिसापानी,  – कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आज यसको शिलान्यास गर्नुभएको छ ।आईएमई समूहका अध्यक्ष चन्द्र ढकालले आज चिसापानी, सुदूरपश्चिममा जालपादेवी केबलकार परियोजनाको शिलान्यास समारोहमा बोल्दै परियोजनाले स्थानीय तथा राष्ट्रिय पर्यटन र आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

ढकालले सातवटै प्रदेशमा केबलकार, होटल, र रिसोर्टसहितको पर्यटन पूर्वाधार निर्माण गर्ने आईएमई समूहको लक्ष्यबारे जानकारी दिँदै भने, “जनतालाई जोड्ने र नेपालको पर्यटन प्रवद्र्धन गर्दै आर्थिक समृद्धिको बाटो खोल्ने हाम्रो दृढ संकल्प हो।”

आईएमई समूहले यसअघि नै काठमाडौंको चन्द्रागिरि, नवलपरासीको गैँडाकोटस्थित मौलाकाली र रुपन्देहीको बुटवलमा केबलकार सञ्चालन गरिसकेको छ। ती परियोजनाहरुले सयौं रोजगारी सिर्जना गर्दै स्थानीय व्यवसाय र जीवनस्तरमा सुधार ल्याएको ढकालले बताए।

चिसापानीमा निर्माण गर्न लागिएको यो केबलकार परियोजना सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशको संगमस्थलमा रहेको छ। यसले धार्मिक, साहसिक, र मनोरञ्जनात्मक पर्यटनलाई प्रवर्द्धन गर्ने र कर्णाली नदीमा जल पर्यटन तथा यस क्षेत्रका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको विकासमा योगदान गर्ने ढकालले बताए। उनले सरकारी नीतिहरु अनुकूल भए निजी क्षेत्रले ठूलो लगानी गर्न सक्ने र विकासलाई तीव्रता दिन सरकारलाई साथ दिन सक्षम रहेको उल्लेख गरे। “निजी क्षेत्रले निर्माण गर्ने प्रत्येक संरचनाले राज्यको हैसियत बढाउने हो,” ढकालले भने।ढकालले चिसापानी क्षेत्रको पर्यटन र आर्थिक विकासमा जालपादेवी केबलकारले कोसेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरे।