नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उदघाटन गरे ।
अनलाइनमार्फत अंगदान गर्ने जोकोहीले दर्ता गराउन सकिने तथा लिन चाहनेले जानकारीसमेत पाउने उनले बताए । मष्तिष्कमृत्युपश्चात तत्काल जानकारी अनलाइनमा राखिने भएकाले यसले प्रत्यारोपण कुरिरहेका बिरामी उपचाररत अस्पताललेसमेत तत्काल अंग प्रत्यारोपण गर्न जानकारी प्राप्त गर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । दाता तथा बिरामीले केन्द्रको वेबसाइट एसडीएनटिसी डट जिओभी डट एनपी मार्फत जानकारी लिन सक्नेछन् ।

सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले नागरिकहरुका लागि निःशुल्क मृगौला प्रत्यारोपण तथा डायलसिस सेवा उपलब्ध गराइरहेको भन्दै धेरैको ज्यान बचाउन नागरिकहरुका लागि मष्तिष्कमृत्यु पश्चात अंगदान प्रोत्साहन गर्न कार्यक्रम शुरु भएको जानकारी दिए ।
