नेपाल इन्डिया चाइना एक्सपो, नाईस २०२५ आयोजना हुने

पर्यटन समाचार

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटन संघसंस्था र सरकारी एवं निजी क्षेत्रका विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्य र सहयोगमा आगामी बर्ष २०२५ फेब्रुअरी २४ देखि २६ सम्म नेपालको पर्यटन राजधानी पोखरामा अवस्थित पोखरा इभेन्ट सेन्टरमा ऐतिहासिक नेपाल इन्डिया चाइना एक्सपो (नाईस २०२५) कार्यक्रम आयोजना गर्ने भएको छ ।

पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड, र पोखरा पर्यटन परिषद्ले संयुक्त रूपमा २९ नोभेम्बर २०२४ का दिन पोखराको लेकसाइडमा अवस्थित मा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सभा हलमा पत्रकार सम्मेलन आयोजना गरी नाइस २०२५ को घोषणा गरेका हुन् ।

नाइस २०२५ का संयोजक र पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य श्री सुनील भट्टराईले पर्यटन क्षेत्रका सबै सरोकारवालालाई सक्रिय सहकार्य र समर्थनको लागि निमन्त्रणा गर्दै भन्नुभयोः विश्व पर्यटन इतिहासमै पहिलो पटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने “नाईस” सम्भवतः पहिलो पर्यटन मेला हुनेछ, जुन नेपालको पर्यटन प्रवद्र्धन तथा विकासका लागि सबैभन्दा महत्वपूर्ण निकट छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत) बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवालाहरु एवम् संघ संस्थाहरुलाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयामहरु उजागर गराउन प्रेरणा प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्ने हामीले विश्वास गरेका छौँ ।

कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्यले नाइस २०२५ नेपालकै पर्यटन राजधानी पोखरामा आयोजना हुन लागेकोमा आफ्नो खुशी र गर्व व्यक्त गरे। उहाँले नाइस २०२५ पोखरामा हालसम्मकै सबैभन्दा ठूलो कार्यक्रम हुने उल्लेख गर्दै यसले पोखराको पर्यटनलाई उल्लेखनीय रूपमा प्रवर्द्धन गर्ने र यस क्षेत्रलाई ठूलो प्रचार दिने बताउनुभयो ।

विशेष अतिथि तथा नेपाल पर्यटन बोर्डका सीईओ श्री दीपकराज जोशीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पर्यटन बोर्ड र पाटा नेपालले पहिलो पटक विभिन्न स्थानीय, राष्ट्रिय तथा क्षेत्रीय संघसंस्थाहरु संग मिलेर त्रिदेशीय एक्स्पो (नाइस २०२५) आयोजना गर्ने घोषणा गर्न पाउँदा आफु अत्यन्त उत्साहित भएको बताउनुभयो ।
वहाँले भन्नु भयो “यो विशेष कार्यक्रमले विश्वकै दुई ठूला आउटबाउन्ड बजारहरूलाई नेपालमा ल्याएर कनेक्ट गर्नेछ। यो एक्स्पोले क्रेताहरु र विक्रेताहरूलाई जोड्ने, लाभदायक व्यापार सम्झौताहरूलाई प्रोत्साहित गर्ने, ज्ञान आदानप्रदान गर्ने, विशिष्ट अनुभवात्मक यात्रा कार्यक्रमहरू प्रदर्शन गर्ने, र अन्तर्राष्ट्रिय खरिदकर्ता र प्रभावशाली व्यक्तिहरूलाई नेपालको जीवंत पर्यटन गन्तव्य र गतिविधि अनुभव गर्न दिने प्लेटफर्मको रूपमा काम गर्नेछ। यो कार्यक्रम केवल एउटा इभेन्ट मात्र नभई हाम्रो राष्ट्रको गर्वको क्षण हा े। म सबै समक्ष यस कार्यक्रमलाई भब्यरुपमा सफल बनाउन पूर्ण साथ् र सहयोगका लागि अनुरोध गर्दछु । ”

पाटा नेपाल च्याप्टरका सीईओ श्री सुरेशसिंह बुडालले नाइस २०२५ सम्बन्धी प्रशुतीकरण अद्यावधिक जानकारी प्रस्तुत गर्दै यस ऐतिहासिक एक्स्पोमो १०० भन्दा बढी क्रेताहरु, ८० भन्दा बढी बिक्रेताहरु, चीन र भारतका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्ताहरु लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १००० भन्दा बढी सहभागिहरु तथा अतिथिहरुको सहभागिता हुने अपेक्षा रहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख श्री नविन पोखरेलले स्वागत मन्तव्य दिँदै नाइस २०२५ को महत्त्वमा प्रकाश पार्नुभयो कार्यक्रमका सभापति तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष श्री तारानाथ पहारीले सहभागी सबैलाई धन्यवाद दिँदै पोखरा पर्यटन समुदायको सहयोग र सहकार्यले नाइस २०२५ लाई पोखराका लागि विशेष र प्रभावकारी कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“नाईस फर माईस एण्ड मोर” भन्ने नाराका साथ आयोजना हुने यो ऐतिहासिक कार्यक्रमले पोखरालाई पदयात्रा र साहसिक पर्यटनको केन्द्रको रूपमा मात्र नभई माईस पर्यटन ( अर्थात् बैठक, सभा सम्मेलन, प्रोत्साहन, बिवाह तथा अन्य उत्सब, महोत्सव, समारोह, मेला र प्रदर्शनीहरू) का लागि उदयीमान र आकर्षक गन्तब्यको रुपमा प्रवद्र्धन गर्ने लगायत मनोरञ्जन र नेपालको पर्यटन क्षेत्रका नयाँ आयामहरूलाई प्रवर्धन गर्नुका साथै पोखरालाई “नेपालको पर्यटन राजधानी” तथा घुम्नैपर्ने प्रमुख गन्तव्यको रुपमा परिचित गराउने उद्धेश्य राखेको छ । यस एक्स्पो आयोजनाको मुख्य उद्देश्य दुई ठुला अर्थतन्त्र तथा पर्यटन स्रोतबजार हरू – भारत र चीन सँग नेपालको अप्रयुक्त प्रचुर पर्यटन सम्भाव्यता र एकीकृत व्यवसायिक अवसरहरूलाई प्रवर्धन गर्नु रहेको छ ।