बेइजिङ, चीनले ग्रामीण सडक विकासमा ऐतिहासिक प्रगति गरेको छ, जसअनुसार २०२३ सम्ममा ग्रामीण सडकहरूको कुल लम्बाइ ४६ लाख किलोमिटर पुगेको छ, जुन भूमध्यरेखालाई ११५ पटक घुमाउन पर्याप्त रहेको छ। शुक्रबार चीनको राज्य परिषद् सूचना कार्यालयले “नयाँ युगमा चीनका ग्रामीण सडक” शीर्षकको श्वेतपत्र जारी गर्दै ग्रामीण सडक विकासका उपलब्धि, भिजन र विश्वलाई प्रस्तुत गर्न सकिने चिनियाँ समाधानबारे जानकारी गराएको छ।
श्वेतपत्रका अनुसार, २०१४ देखि २०२३ सम्ममा २५ लाख किलोमिटर ग्रामीण सडक निर्माण वा मर्मत गरिएको छ, र ७०,६०० गाउँहरू पक्की सडकमार्फत जोडिएका छन्। २०१३ को तुलनामा ग्रामीण सडकको कुल लम्बाइमा २१.७ प्रतिशतले वृद्धि भएको हो।
चीनका गैर-टोल ग्रामीण सडकहरू यातायात पूर्वाधारको सबैभन्दा ठूलो हिस्सा बनाउँछन् र ग्रामीण जनसंख्याको ठूलो भागलाई सेवा दिन्छन्। यी सडकहरूले ग्रामीण जनताको यात्रा, जीवनस्तर सुधार र कृषि तथा ग्रामीण क्षेत्रको आधुनिकीकरणमा महत्वपूर्ण भूमिका खेलेका छन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङले १० वर्षअघि ग्रामीण सडक निर्माणमा ध्यान दिन निर्देशन दिएका थिए। उनले “चार राम्रो ग्रामीण सडक” (सिहाओनङछुनलु) का रूपमा चिनिने यी सडकहरू राम्रोसँग निर्माण, व्यवस्थापन, मर्मत र उपयोग गर्नुपर्ने बताएका थिए। २०२३ मा सीले ग्रामीण विकासलाई थप सहज बनाउन सडक स्तरोन्नतिका लागि नयाँ निर्देशन जारी गरेका थिए।

ग्रामीण सडकहरूको उच्च-गुणस्तरीय विकासका लागि चीनले नवीन संस्थागत उपायहरू, व्यवस्थित योजना, र लक्षित नीति कार्यान्वयनमार्फत उल्लेखनीय सुधार गरेको छ। यसले ग्रामीण सडकहरूको पहुँच, मर्मत, सेवा, सुरक्षामा सुधार ल्याएको र ग्रामीण समृद्धिका लागि आधारशिला प्रदान गरेको छ।
ग्रामीण सडक विकासले मात्रै ग्रामीण क्षेत्रका लाखौँ मानिसहरूलाई रोजगार सिर्जना गरेको छैन, तर उनीहरूको आय बढाउन पनि योगदान पुर्याएको छ। श्वेतपत्रका अनुसार, ग्रामीण सडक निर्माण आयोजनाहरूले वार्षिक प्रतिव्यक्ति आयमा औसत ८,५०० युआन (१,१८२.५७ अमेरिकी डलर) को वृद्धि गरेको छ।

चीनले ग्रामीण सडक विकासमार्फत अन्य विकासशील राष्ट्रहरूलाई समेत सहयोग गर्दै आएको छ। २०१८ यता, चीनले कम्बोडिया, सर्बिया, रवाण्डा, नामिबिया, भानुआटु, नाइजरलगायत २४ देशलाई सडक तथा पुल निर्माणमा सहयोग गरेको छ।
चीनले २०३५ सम्ममा ग्रामीण सडक यातायात प्रणालीको संरचना सुधार गर्ने र मध्य शताब्दीसम्म एक सुरक्षित, सुविधाजनक, हरित र सुन्दर ग्रामीण सडक प्रणाली स्थापना गर्ने लक्ष्य राखेको छ।
श्वेतपत्रले चीनको ग्रामीण सडक विकासले विश्वका अन्य राष्ट्रहरूलाई गरिबी निवारण र ग्रामीण विकासमा योगदान दिने प्रतिबद्धता जनाएको छ।
* एजेन्सीहरु को सहयोगमा तयार गरिएको
