विनाशकारी वर्षा र पहिरोका कारण नेपालमा ३५ बालबालिकाको मृत्यु : युनिसेफ

विविध

युनिसेफका अनुसार, केहि दिन अगाडीको लगातार भारी वर्षाका कारण नेपालमा व्यापक बाढी आएको छ, जसले हजारौं बालबालिका र उनीहरूका परिवारलाई प्रभावित गरेको छ ।

प्रारम्भिक अनुमानअनुसार करिब २१७ जनाले ज्यान गुमाएका छन्, जसमा ३५ बालबालिका पनि रहेका छन्, भने धेरै व्यक्ति घाइते वा हराइरहेका छन्। सयौं घरहरू क्षतिग्रस्त भएका छन्, जसका कारण हजारौं बालबालिका र उनका परिवारहरू विस्थापित भएका छन्, उनीहरूलाई मौसमको प्रतिकूलतामा असुरक्षित बनाएको छ । पहिरोले मुख्य सडकहरू अवरुद्ध भइरहेका छन् र खोज तथा उद्धार प्रयासहरूमा कठिनाइ आइरहेको छ । २७ सेप्टेम्बरदेखि लगातार परेको वर्षा नेपालले पछिल्लो केही दशकमा देखेको सबैभन्दा भारी वर्षामध्ये एक हो।

“युनिसेफ नेपालको तर्फबाट, म आफ्नो प्रियजनहरू गुमाएका परिवारहरूप्रति, विशेषगरी बालबालिकाका परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु । बालबालिका र युवाहरूलाई अहिले सहयोगको अत्यन्त जरुरी छ। उनीहरूले आफ्नो घर गुमाउनुका साथै, बालबालिकाले भोगेको मानसिक आघातलाई हामीले कम आँक्न सक्दैनौं, उनीहरूलाई मानसिक स्वास्थ्य सहयोगको आवश्यकता छ । यस्ता परिस्थितिमा, बालबालिका हिंसा, शोषण र दुर्व्यवहारको थप जोखिममा पर्ने सम्भावना हुन्छ, युनिसेफ स्थलगत रूपमा उपस्थित छ र प्रभावित बालबालिका र उनीहरूका परिवारहरूलाई जीवनरक्षाका सामग्री र सेवाहरू पुर्‍याउन सरकार र साझेदारहरूसँग मिलेर चौबीसै घण्टा काम गरिरहेको छ।”-  एलिस अकुङ्गा, नेपालका लागि युनिसेफका प्रतिनिधि 

बालबालिकामा यसको प्रभाव पहिले नै महसुस भइरहेको छ। अनुमानित १३ वटा अस्पताल क्षतिग्रस्त भएका छन् र पानीको आपूर्तिमा व्यापक असर परिरहेको छ, जसले बालबालिकाको स्वास्थ्य र पोषणलाई जोखिममा पारेको छ । ५४ वटा विद्यालयहरूमा भएको क्षतिले १०,००० भन्दा बढी बालबालिकालाई सिक्ने, खेल्ने र निको हुने सुरक्षित स्थानबाट वञ्चित गराएको छ।

युनिसेफ नेपाल सरकार र अन्य मानवीय साझेदारहरूसँग मिलेर परिस्थिति मूल्यांकन गर्न र तुरुन्तै सहायता पुर्‍याउन काम गरिरहेको छ । पहिले नै तयार गरिएका सरसफाइ किटहरू, झुलहरू, बाल्टिनहरू, पानी शुद्धीकरण ट्याब्लेटहरू, र त्रिपालहरू – बालबालिका र उनका परिवारहरूसम्म पठाइएको छ।

“म ती बालबालिकाको बारेमा निकै चिन्तित छु जो आज राति र आगामी दिनहरूमा बाहिर सुत्नेछन्; हामीले छिट्टै कदम चाल्नुपर्छ,” एलिस अकुङ्गाले भनिन् । “नेपाल सरकार र स्थानीय साझेदारहरूका साथ युनिसेफजस्तो एक विश्वासिलो संस्था छ, जसले हरेक आपतकालीन अवस्थामा बालबालिकाका लागि सहयोग गर्न तत्पर छ , ताकि हामी मिलेर यो भयानक मौसमी विपदको प्रभावलाई कम गर्न सकौं।”।