होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मन्यता प्राप्त गर्न गरिएका प्रयासहरु
विगत २० बर्ष देखि होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मन्यता प्रदान गर्ने विषयमा चर्चा चलिरहेको रहेको छ तर अहिलेसम्म यसले निकास पाउन सकेको छैन । यसमा एउटा कुरा सत्य हो, या त हामी व्यवसायीले यसको आवस्यकता सरकारलाई बुझाउन सकेनौ अथवा सरकार तथा प्रशासन तन्त्र बुझ पचाएर बसेको छ, अहिले व्यवसायी र सरकार बीचको ज्ञाप भनेको पनि यहि नै हो । हामीले यो भन्दा अघिका धैरे पूर्ववर्ती सरकारहरुसँग बृहत् छलफल गरका थियौ , यसको आवस्यकता औचित्य र राष्ट्रिय स्तरमा यसबाट हासिल हुने प्रतिफलको पूर्वानुमान समेत प्रष्ट रुपमा सरकारहरु सामु प्रस्तुत समेत गरेका छौ र अझै गर्दैछौ ।
औद्योगिक व्यवसाय नियमावली २०७८ मा होटलहरुलाई सेवा व्यवसायका रुपमा वर्गीकृत गरिएको छ । यहाँ सरकारी पक्षको तर्क भनेको होटल उद्योग उत्पादन मुलक उद्योग होइन, सेवामुलक मात्र हो भन्ने प्रमुख हो । होटलहरुको दर्ता उद्योग विभागमा नै हुन्छ, सरकारले तोकेको सबै नीति नियम हामीले पनि पुरा गरेकै हुन्छौ , सरकारले तोकेको सबै राजस्व समेत तिरेकै हुन्छौ , एकपछि अर्को दर्ता भने उद्योग विभागमा हुने तर संचालनमा आएपछि सेवा व्यवसाय मात्र हुने – यो हो हाम्रो बिडम्बना । हामीले मात्र सिमेन्ट र छड उद्योगले जस्तो वस्तु पो उत्पादन गर्दैनौ तर पर्यटन तथा होटल उद्योगको योगदान यो देशको अर्थतन्त्र सवल पार्नमा के र कुन अधारमा कम छ त ? तर सचिव , सहसचिव लगायत सकारी अधिकारीहरुको एउटै तर्क ‘तपाईहरु उत्पादनशिल इकाई होइन’ भन्ने मात्र छ, वहाँहरु आफ्नो बुझाइको दायर फराकिलो पार्न तयार नै हुनुहुन्न ।

नेपालमा पर्यटन तथा होटल उद्योगको वर्तमान अवस्था र चुनौती
आजको दिनमा हेर्दा खेरी पर्यटन यो देशलाई द्रुत गतिमा सम्वृद्धि प्रदान गर्नसक्ने क्षेत्र हो । कुनैपनि पर्यटक हाम्रो सिमानामा, एयरपोर्टमा आइपुग्ने बित्तिकै पर्यटकले खर्च गर्न सुरु गरी हाल्दछन् । पर्यटकलाई जति हामीले योराष्ट्रमा रमाउने वातावरण दिन सक्छौ त्यति धेरै खर्च पर्यटकबाट हुने गर्दछ । नेपालमा २००७ सालको सेरोफेरोबाट सुरु भएको हाम्रो पर्यटन क्षेत्रले आजसम्म आइपुग्दा धेरै फड्को मारीसकेको छ । यहाँ गर्व गर्ने कुरा के छ भने ग्लोबल टुरिजममा जुन एउटा अन्तराष्ट्रिय स्तरको जुन मापदण्ड कायम गरिएको हुन्छ त्यसको आधारमा हाम्रो देशमा त्यसको हाराहारी मै नेपालका पर्यटन व्यवसायीहरुले सेवा प्रदान गरिराखेका छन् । नेपाल आउने पर्यटकहरुको तथ्यांक बिश्लेषणको आधारमा हामी यो भन्दै छौ, नेपाल आउने पर्यटकहरुमा दोह्र्याएर तेह्र्याएर नेपाल आउने पर्यटकहरुको संख्या धेरै रहने गरेको छ, यसको आधारमा समेत हामीले वर्ल्ड टुरिजम स्ट्याण्डर्डको हिसाबमा नेपालको टुरिजम सर्भिस कम छैन भनेर भनेका हौ ।
कोरोना महामारीको समयमा नेपालको पर्यटन क्षेत्र एकदमै नराम्रोसँग थला पर्यो, करिब-करिब धरासयी नै हुनपुग्यो तर अहिले बिस्तारै यो लयमा फर्किदै गएको छ । नेपालको अर्थतन्त्रका अन्य पाटाहरुको तुलनामा पर्यटन क्षेत्र धेरै माथि आइसकेको छ, टुरिस्ट अराइभलको हिसाबले हेर्दा अहिले कोभीड अघिको जुन किसिमको टुरिस्ट अराइभल फ्लो हुने गर्दथ्यो, त्यसको हाराहारीमा नेपालको टुरिस्ट अराइभल पुगिसकेको छ, यो एकदम सन्तोषजनक कुरा हो । यसको साथै नेपाल अहिले एकपछि अर्को इन्टरनेसनल चेन होटेलहरु संचालनमा आउने लहरै आएको छ । इन्टरनेसनल फ़्रेञ्चाइजिज र म्यानेजमेन्टमा देशभित्र ठुल-ठुला पाँच तारे होटेल एकपछि अर्को संचालनमा आइरहेका छन् । यो निश्चय पनि अन्तर्रास्ट्रिय जगतले नेपालको पर्यटन क्षेत्रको पोटेन्सियल र ग्रोथ देखेर हासिल भएको नतिजा हो ।
दोश्रो नेपालको अवस्थिति झनै महत्वपूर्ण रहेको छ, हामी चीन र भारतको बीचमा अवस्थित छौ । दुवै देश फ़ास्टेस्ट ग्रोइङ्ग इकोनमि हुँदा,करोडौ चिनिया तथा भारतीय नागरिकहरु पर्यटकका रुपमा आफ्नो देशभन्दा बाहिर भ्रमणमा जाने गरेको छन् । त्यसको केही प्रतिशत मात्र हामीले नेपाल भित्र्याउन सक्यौं भने मात्र हामीले थप केहि गर्नै पर्दैन, नेपाल जस्तो देशका लागी यो नै पर्याप्त हुन्छ । सम्भावना व्यापक छ, नेपालमा पर्यटन क्षेत्रले उत्साहजनक प्रगति समेत हासिल गरेको छ तर यति भन्दा भन्दै पनि सम्भावानाको तुलनामा हामीले यसको केही प्रतिशत मात्र फाइदा उठाउन सकेका छौ । जुन मात्रामा अहिलेसम्म पर्यटन पूर्वाधारहरु बने तर त्यसको तुलनामा पर्यटक आगमनमा वृद्धि हुन-सकेको छैन, एक से एक होटलहरु बने तर तिनमा अकुपेन्सी छैन ।
नेपालका होटलहरुको गेस्ट क्यरियिंग क्यापासिटी अहिले नै करिब ३५ लाख पर्यटकहरुलाई सेवा प्रदान गर्न सक्ने क्षमतामा नेपालको निजि क्षेत्र पुगिसकेको छ । तर सरकारको तर्फबाट यसको तुलनमा आशाजनक प्रगति हुनसकेको छैन, एयर कनेक्टीभिटि , बाटो-घाटो, पर्यावरणसँग सम्बन्धित कार्य तथा नीतिगत कार्य समेत नीजि क्षेत्रको तुलनामा निकै कमजोर छ, यसले गर्दा पर्यटक आगमन जुन रुपमा आवस्यक हुन्छ त्यस रुपमा हुन सकिरहेको छैन, नीजि क्षेत्रको लगानी समेत प्रोडक्टिभ हुन् नसकेर आइडल रहेको छ । नेपालको पर्यटन उद्योगलाई पहिलो सेटब्याक २०५२ साल बाट सुरु भएको जनयुद्धले गर्दा भयो, त्यति बेला पर्यटकहरुको आगमन निकै न्यून हुन पुग्यो र त्यो कालमै यो देशको गहनाको रुपमा चिनिने ठुला ठुला होटलहरु जस्तै शेर्पा होटल, ब्ल्यु स्टार, नारायणी होटल लगयत थुप्रै अन्य ठुला लगानीमा देशभरि संचालनमा रहेका अथवा निर्माणाधीन परियोजनाहरू बन्द हुन पुगे ।
अहिले यदि हामीले फेरी पनि हाल पर्यटन क्षेत्रमा रहेका कमी कमजोरीहरुलाई सुक्ष्म रुपमा अध्यन गरेर समाधान ननिकाल्ने हो भने फेरी एकपटक नेपालको पर्यटन उद्योगलाई अर्को सेट ब्याक लाग्न सक्ने सभावना देखिदै छ । एकातर्फ होटलहरु धमाधम खुल्ने, अर्को तर्फ अकुपेन्सी एक तिहाई मात्र रहने – कुनै पनि व्यवसाय एक तिहाईमा चल्दैन त्यो धरासायी हुनपुग्छ । त्यसकारणले अहिलेको नीति, नियम, प्रक्रियाहरु लगायत थुप्रै कुराहरूमा आमूल परिवर्तन गर्नु जरुरी छ ।
चुनौतीको चाङ बीच धमाधम अन्तराष्ट्रिय चेन होटलहरु खुल्दै, सरकार आफ्नो प्रतिवद्धता पुरा गर्न असफल, व्यवसायीलाई होटल निल्नु न ओकल्नु
पोखरा र भैरहवाको अन्तराष्ट्रिय विमानस्थलहरु विगत दुई बर्षदेखि तयार छन् तर उडान संचालन हुन सकिरहेको छैन । हिजो यस्तो पूर्वाधारहरु तयार हुँदै गरेको देखेरै त नीजि क्षेत्रले एक से एक ठुला ठुला तारे होटेलहरुमा लगानी गरेको हो । अहिले धमाधम खुली रहेका इन्टरनेसनल चेन होटेलहरुको बिजनेस प्लान त त्यसरी तयार भएको थियो, व्यवसायीहरुले क्याल्कुलेटिभ रिस्क लिए त्यति बेला तर दुई दुई बर्ष विमानस्थलहरु घाम तापेर बस्लानन् भन्ने कसले सोचेको थियो । काठमाडौँको एउटा एयरपोर्टले जब बर्षमा १० लाख पर्यटक भित्र्याउन सक्छ भने थप दुई दुई वटा एयरपोर्ट संचालनमा पर्यटकको फ्लो डबल त त्यसै भइहाल्छ, व्यवसायीहरुको प्रिडिक्सन त कुनै हालतले गलत हैन, अब यो त सरकारी निकाय र सरकारको कमजोरी हो, पर्यटन व्यवसायीहरुले त खरबौ रुपियाँ लगानी गरिसके अब के यो हामी लगानीकर्ताहरु को दोष हो त? भैरहवा कै ठुला साना होटलहरुको दुरावस्था हेर्नुस, सबै होटलवालाहरु रोएर बस्ने अवस्था छ. एयरपोर्ट चल्दैन, होटलवालाहरु धमाधम कालोसूचीमा सुचिकृत हुन बाध्य भएका छन् , सम्पत्ति लिलाम भइरहेका छन् , गल्ति कसको भन्दा सरकारको अकर्मण्यताको, उडानविहिन विमानस्थलको, हाम्रो होइन । सरकार, मन्त्रालय, पदाधिकारीहरुसंग कुरा गर्यो सबैले हुन्छ नै भन्छन् , तर खै त रिजल्ट आएको व्यवसायी मात्र कहिले सम्म प्रताडित हुने ? तर के गर्ने व्यवसायीहरुले लगानी फ़साइ सके हामी हाम्रो तर्फबाट कोसिस जारी नै राख्छौ, सरकारले कहिले गर्छ कसरी गर्छ सरकारको कुरा हो , व्यवसायीहरुले आशा गर्ने त हो अरु के गर्न सक्छन् ? भैरहवा विमानस्थल भनेको त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई टार्गेट गरेर खोलिएको विमानस्थल खै त हामी कहाँ न प्लेन आउँछ न पर्यटक । मक्का मदिनामा हेरौं न , जेरुसेलमा हेरौन कति धार्मिक पर्यटक जान्छन् , प्रमोसन सरकारले नसकेको हो की? फ्लाइट त सरकारले ल्याउनसक्नु पर्ने हो, नेपाल सरकारले अहिलेसम्म सकेन । नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्र, यसले गर्दा होटल मात्र हैन हरेक व्यवसाय कै लागत त यहा महँगो भइहाल्छ, होटल म्यानेजमेन्ट साइन्सका अनुसार समेत एउटा होटललाई कम से कम ब्रेक इभ मा रहन समेत न्युनानतम ४० प्रतिसत अकुपेन्सी त चाहिन्छ चाहिन्छ । केहि नयाँ नयाँ तथा अन्तराष्ट्रिय चेन होटलहरुमा अहिले पनि अकुपेन्सी राम्रै पनि छ तर समग्रमा देशैभरीको होटलहरुको कुरा गर्दा अवस्था नाजुक छ । अझ मोफसलका होटल तथा पर्यटन व्यवसायीहरुको अवस्था त नाजुक नै छ ।

होटल उद्यमीहरुमाथि विभेद किन ?
अब सबैले बुझ्ने भाषामा कुरा गरौ न त बिजुली, प्राथमिकत प्राप्त उद्योगहरुले ६/७ रुपैया युनिटमा प्राप्त गर्नसक्ने तर होटल उधोगले १६/१७ रुपैया तिर्नुपर्ने – यो विभेद किन ? कर छुटका कुरामा यस्तै छ, बैंकसँगको सम्बन्धका लागि यस्तै विभेद छ । यत्रो अरबौ अर्ब लगानी गरेर संचालनमा आएका होटलहरु के एक दुई महिना एक दुई बर्ष संचालन भएर हराएर जाने सेवा व्यवसाय हो ? खाली शाब्दिक अर्थमा अड्किने की तात्विक महत्व मनन गर्ने? यो प्रमुख बिषय हुन जानुपर्ने हो तर नेपालमा उल्टो छ ।
अब सरकारको बुझाइ तर्फ लागौ सरकारले पर्यटन, आइटी र जलश्रोतलाई यो देशको खम्बा भन्दै आएको छ, यसपटकको सरकारको बजेट, नीति तथा कार्यक्रम जताततै यहि कुरा देखिन्छ, नेताज्युहरुको भाषण, भाषण मै यही बुँदा रहेका हुन्छन् – सरकार खाली सैद्धान्तिक कुरामा अड्किएको छ , खै त यसको व्यवहारीक पाटो? यदी यो देशको खम्बा हो भने यसलाई आधार त दिनु पर्ला, जग र कुसन त दिनु पर्ला – खाली देशको खम्बा भनेर भाषण गरेको भरमा त नहोला । यस बर्षको बजेटले १६ लाख पर्यटक देशमा भित्र्याउने उल्लेख गरेको छ, यता हामी नीजि क्षेत्रको हालको टुरिस्ट राख्नसक्ने क्षमता ३५ लाख, अब क्षमता भन्दा आधा लक्ष राखेर कुनै व्यवसाय फस्टाउछ ? अब यहीनिर प्रश्न उठ्छ या त कुरा हामी व्यवसायीहरूले नबुझेको हो की अथवा हामीले सरकारलाई बुझाउन नसकेको हो ।
लगतातरको विभेद किन, कतै हाम्रो प्रयास मै त समस्या छैन ?
विगत दुई दशक देखि होटल एसोसिएसन नेपाल (हान ) राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मन्यता प्राप्त गर्न प्रयासरत छ तर आजसम्म हामीले सफ़लता प्राप्त गर्न सकेको छैनौ । यसले एक पटक हामी होटल व्यवसायीहरुले समेत एकपटक गहिरो चिन्तन गर्ने समय आएको अवस्य हो, के छ त हाम्रो तर्कमा कमजोरी, कतै हाम्रो लबिङ्ग गर्ने प्रक्रियामा त कमजोरी भएको होइन अथवा अन्य स्वार्थ समुह हामी भन्दा चतुर र हावी त भएको होइन, यसको समेत बिश्लेषण गर्नुपर्ने त होइन ? यस्ता सवाल समय-समयमा अन्य क्षेत्रका शुभ चिन्तकहरुले समेत उठाएको पाइन्छ ।
विभेदको पराकाष्ठा : एक रातको चमत्कार, होटल व्यवसायी हिस्स बुढी खिस्स दाँत
हाम्रो लबिङ्ग एउटा पक्ष हो, यहाँ लबिङ्ग गर्ने अन्य व्यवसायिक साथीहरु समेत हुनुहुन्छ, उनीहरुको समेत आफनो अजेण्डा हुन्छ तर यसको विपरित अर्कोतर्फ सरकारको आफ्नै तिन महले प्रक्रिया रहेको हुन्छ – अर्थात के भइरहेको छ ? के हुनुपर्छ र यसो गर्दा देशलाई के फाइदा हुन्छ ? हाम्रो मात्र एकतर्फी तर्क राखेर मात्र हामीले लबिङ्ग गर्न मिल्दैन दबाव दिन मिल्दैन, होटल एसोसिएसन नेपाल (हान ) ले सरकारको यो अडानलाई नबुझेको होइन राम्रो सँग बुझ्छ । यसै अनुरुप हामीले हाम्रो गतिबिधि, छलफलहरु अघि बढाउदै आएका छौ । तर यस बीचमा समेत केहि तिता-मीठा घटनाको साक्षी हामी समेत छौ, मै आफै छु । यसपटकको लगानी सम्मेलनमा सात आठ वटा आर्थिक ऐन नियमावलीहरु संसोधन भएका छन् । होटल एसोसिएसन नेपाल (हान )ले यस प्रक्रियामा लगातार गहन रुपमा कार्यहरु गरेको समेत थियो जसका कारण सरकारले हामी होटल व्यवसायीहरुलाई अब होटललाई समेत राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको वर्गिकरणमा राख्छौ भनेर सरकारले हामीसँग प्रतिवद्धता समेत गरेको थियो । तर जब राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको सुचीमा नयाँ सुची थप गर्ने अन्तिम समय आयो, अघिल्लो रात सम्म म विनायक शाहले नै तपाईहरुले यस पटक मन्यता प्राप्त गर्नु हुन्छ भनेर जिम्मेवार पदाधिकारीहरुबाट आश्वाशन प्राप्त गरिरहेको थिए, तर भोलिपल्ट जब सुची जारी भयो होटल उद्योग परेन बरु केवल कार पर्यो, फेरी एकपटक हामी हेरेको हेर्यै हुने स्थिति आयो । मेरो बुझाइमा त्यो बेलामा हाम्रो मागले राजनैतिक तहको अवरोध भन्दा पनि ब्युरोक्र्यासीको चेपुवामा अड्कियो । त्यो समयमा केवलकार उद्योगले राष्ट्रिय प्राथमिकत प्राप्त उद्योगको मन्यता प्राप्त गर्यो तर होटल उद्योगले मन्यता प्राप्त गर्न सकेन जुन कुरा होटल एसोसिएसन नेपाल (हान ) र हामी होटल व्यावसायीहरुले यसको लजिक बिहाइण्ड आज सम्म बुझन् सकेका छैनौ ।
यो हाम्रो घाटा अथवा राष्ट्रको नोक्सानी ?
यसले देशलाई के नोक्सान भयो त लगनी सम्मेलन अघिदेखि नेपालमा होटल उद्योगले राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता प्राप्त गर्यो भने हामी नेपालको अल्पाइन क्षेत्रमा हामी होटेल रिसोर्ट मात्र होइन अल्पाइन स्पोर्टस कम्लेक्समा लगानी गर्छौ भनेर तयार भएका जर्मन, स्विस, फ्रेन्च जस्ता लगानीकर्ता निरास भएर फर्किए । अर्को मध्य पहाडी लोक मार्गको विस्तार संगै त्यस क्षेत्रमा होटेल रिसोर्ट डेभलप गर्छु भनेर हौसिएका थुप्रै भारतीय लगानीकर्ता समेत निरास भएर फ़र्किए, यो त शायद देशलाई घाटा नै भयो होला ।
अनवरत प्रयास जारी होटल व्यवसायी अझै आशावान
अहिलेको सरकारसँग हामी लगातार सम्पर्कमा रहेका छौ, अर्थमन्त्रीसँग होटल एसोसिएसन नेपाल (हान ) पदाधिकारी सहित मैले आफै दुई-तीन पटक भेटेर हाम्रो अजेण्डा र यसको राष्ट्रिय महत्व तथा दिर्घकालिन औचित्य आफैले समेत प्रस्ट्याएको छु । यसै गरी ब्युरोक्रयासिलाई समेत हामीले अझै बिस्तृत रुपमा यसका विभिन्न आयाम र प्रतिफलहरुलाई बुझाउने प्रयास जारी राखेका छौ । अहिलेको अर्थमन्त्री आफैले समेत यसअघि मन्त्रि हुँदा होटल उद्योगलाई बजेट मार्फत एक बर्षको लागि भएपनि राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता प्रदान गरीसक्नुभएको व्यक्ति हुनुभएको हुँदा यसपटक अर्थमन्त्रीले कर्मचारी प्रशाशनलाई स्पष्ट निर्देशन दिनुभएमा छिटै नै होटल उद्योगले समेत राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मन्यता प्राप्त गर्ने छ भन्नेमा होटल एसोसिएसन नेपाल (हान ) विस्वस्त छ ।
निष्कर्ष
नेपालको पर्यटन उद्योगले कोरोना महामारीपछि वास्तवमै राम्रो प्रगति गरेको छ, तर यो अझै पूर्ण क्षमतामा संचालित हुन् सकिरहेको छैन ।
हवाई सम्पर्क र पूर्वाधारको विकासमा सरकारी निकायहरूको कमजोरीले निजी क्षेत्रको लगानीलाई उत्पादक बनाउन चुनौती पैदा भएको छ, ठुलो लगानी अहिले जोखिमको चक्रब्युहूमा जेलिएको छ ।
भारत र चीन जस्ता छिमेकी मुलुकहरूबाट आउने पर्यटकको ठूलो हिस्सा नेपाल भित्र्याउन अझ धेरै योजना र नीतिगत सुधार आवश्यक छ ।
होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिन सरकारको समर्थन र दृढ कदमको खाँचो छ, जसले दीर्घकालीन पर्यटन विकासलाई सुनिश्चित गर्छ ।
विनायक शाह, अध्यक्ष, होटल एसोसिएसन नेपाल (हान)
(यो आलेख होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष, विनायक शाह संग इन्स्टाखबर डटकमका कार्यकारी सम्पादक लाभेश प्याकुरेलले गर्नु भएको भिडियो अन्तर्वार्ताको आधारमा तयार गरिएको हो)



