कामनपाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा लगायो रोक

स्वास्थ्य-शिक्षा

काठमाडौँ महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ।

वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहर संकलन केन्द्रमा पुग्दा हानीकारक फोहर र सामान्य फोहर एकै ठाउँमा राखिएको भेटिएपछि हानीकारक फोहर निर्मलीकरण नहुञ्जेलसम्मका लागि फोहर संकलनमा रोक लगाइएको वातावरण व्यवस्थापन महाशाखाले जानकारी दिएको छ ।

अस्पतालले फोहर व्यवस्थापनका लागि छुट्टै टहरा बनाएको छ । टहराभित्र फरक प्रकृतिका फोहर राख्न छुट्टै कोठा बनाइएको छ। संरचना उपयुक्त बनाए पनि फोहर संकलन र व्यवस्थापन अभ्यास भने अनुपयुक्त पाइएको महानगरपालिकाले जनाएको छ।

फोहर निर्मलीकरणका लागि ३ वटा अटोक्लेभ मेसिन राखिएका थिए। यीमध्ये २ वटा विग्रिएका थिए। चलेको एउटाले पनि राम्ररी काम नगरेको भेटिएको छ । वातावरणमैत्री त थिएन नै काम गर्ने व्यक्तिहरु सुरक्षित हुने अवस्था पनि नदेखिएको तथा फोहर वर्गीकरणमा काम गर्ने व्यक्तिको हातमा पञ्जा भएको ,  लगाएर ओहोरदोहोर गरिरहनुभएको लगायत लापरवाही भेटिएको जानकारी महानगरले दिएको छ ।

अस्पताल पक्षले भने स्रोतमा वर्गीकरण राम्रो भएको दाबी गरेको छ।