घरजग्गा व्यवसायी तथा ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन्। पटक–पटक पक्राउ पर्दै छुट्दै आएका बस्नेतलाई प्रहरी परिसर, टेकुको टोलीले काठमाडौंको भीमसेनगोलाबाट बुधबार साँझ मिटिङ गरिरहेको अवस्थामा फेरि पक्राउ गरेको हो।
समस्याग्रस्त सहकारीहरुको छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा १४ करोड हिनामिना आराेपमा ओरियन्टलका सहकारीका अध्यक्ष बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि सहकारी ऐन २०७४ अनुसार अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीकाे भनाई छ ।
बस्नेत यसअघि पनि ओरेन्टल सहकारीको बचत हिनाहिना र ठगी प्रकरणमा २०७३ पुसमा धापासीबाट जेल परेर छुटेका थिए।
बस्नेतमाथि संगठित अपराध र ठगी मुद्धा चलाइने तयारी छ । सर्वसाधारणबाट करोडौं रकम उठाएर ऋणको सावां ब्याज नतिरी फरार रहेका उनले तिर्नुपर्ने रकम १६ अर्ब रुपैयाँभन्दा बढी रहेको बताइन्छ। उनी तत्कालिन ग्राण्ड बैंकलाई घाटामा जान बाध्य बनाउने मध्येका एक ब्यवसायी समेत हुन् ।
उता समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन गर्न सरकारले गठन गरेको समितिले बस्नेतको सम्पूर्ण सम्पति नियन्त्रण गरी लिलाम प्रक्रियाबाट बिक्री गरि पीडितको पैसा फिर्ता गर्ने तयारी गरेको छ ।
ओरेन्टल सहकारीमा १४ करोड हिनामिना र कोहिनुर हिल हाउजिङ्ग तथा आयुसा हाउजिङ्ग, कोहिनुर हिल्स, इस्टर्न अपार्टमेन्ट, ओरेन्टल इन्डिभिज्युवल होम्स लगायत विभिन्न अपार्टमेन्ट बनाउने भन्दै सर्वसाधारणसँग अर्बौं रकम उठाएका उनीमाथि ठगी अभियोगमा धेरै उजुरी प्रहरीमा परेको छ।



