बलिउड अभिनेत्री मलाइका अरोराका बुवा अनिल अरोराकाे सात तलाबाट हाम फालेर मृत्यु

मनोरंजन

बलिउड अभिनेत्री मलाइका अरोराका बुवा अनिल अरोराले बुधबार मुम्बईको बान्द्रास्थित आयशा मनोर भवनको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन्। उनले आत्महत्याको कारण भने खुलेको छैन।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार शवलाई अहिले पोस्टमार्टमका लागि पठाइएको छ । घटनामा प्रहरीले मलाइकाकी आमा जोइस पोलिकर्पको बयान लिएको छ।

जोइसका अनुसार अनिल हरेक दिन बाल्कोनीमा बसेर अखबार पढ्ने गर्थे। उनीसँग अनिलको धेरै वर्षअघि सम्बन्ध विच्छेद भए पनि केही समयदेखि उनीहरु आयशा मनोरको सातौं तल्लामा सँगै बस्थे।

बुधबार बिहान जोइसले अनिलको चप्पल बैठक कोठामा देखेपछि उनलाई भेट्न बाल्कोनीमा गएकी थिइन्। तर बाल्कोनीमा उनी थिएनन्। तल गएर हेर्दा चौकीदार सहयोगका लागि कराइरहेका थिए भने अनिल भुईंमा पछारिएका थिए।

प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। अहिले घटनास्थलको शिलबन्दी गरिएको छ।

बुवाको मृत्युको खबर सुन्दा पुणेमा रहेकी मलाइका तत्काल मुम्बई फर्किएकी थिइन्।