गणेश चौथी, चथा: अनि भगवान गणेश र चन्द्रमाको कथा

रोचक विविध

हरेक बर्ष भाद्र शुक्ल चतुर्थीको दिन गणेशको जन्म दिनको रुपमा काठमाडौंका मुख्य गणेशस्थानहरु अशोक विनायक,चन्द्रविनायक, सूर्यविनायक, जलविनायक, कमलविनायक लगायत अन्य गणेश मन्दिरमा पुजाआजा गरेर मनाइने गरिन्छ । त्यसैगरी नेवा समुदायले आजको दिन चथा नखः मनाउछन् । यो पर्वलाई सानो दशैंको रुपमा पनि मानिन्छ अर्थात आजको दिन जति राम्रो भयो दशैं पनि उति नै राम्रो हुन्छ भन्ने जनविश्वास छ । तिथिअनुसार बडा दशैँको अष्टमी यसको ठीक एक महिनापछि आउने हुनाले यसलाई दशैँको पूर्व तयारी पूजाका रुपमा “सानो दशैँ” पनि भन्ने गरिएको छ । “चथाःपूजा”, “इन्द्रजात्रा”देखि “दशैँ” सम्म जोड्ने सांस्कृतिक सम्बन्धलाई नेपाल भाषामा“ञँला”अर्थात् एघारौँ महिना भन्ने गरिएको छ ।

चथा:को दिन बेलुकी चन्द्रमाको आराधना गरि धुमधामका साथ पुजा गर्ने प्रचलन रहेको छ । यस दिन चन्द्रमाको पुजा गरे वर्ष भरि चोर दोषबाट मुक्त हुने जनविश्वास रहेको पाईन्छ । चथाः पर्वको दिन पानी परे दशैंमा पनि पानी पर्छ भन्ने जनविश्वास रहेको पाईन्छ ।

गणेश चौथी अर्थात गणेशको जन्म दिन । यस दिन देवराज इन्द्र आमा बसुन्धराको पुजाको लागि पारिजात फुल चोर्न काठमाडौ उपत्यका पसेको र बिष्णुमति – भद्रमति नदीको संगममा रहेको निर्मल तिर्थमा दर्शन गरी बिष्णुमति खोला किनारमा अवस्थित एक मालीको बगैंचामा पारिजात चोर्दै गर्दा स्थानिय बासीले देखेर चोरको आरोप लगाईएको र त्यही अनुरुप येँया जात्रामा बाँधेर राखेको किम्वदन्ती रहेको छ । चौरासी ब्यंजनमा रमाएका देवराज इन्द्रलाई चथा: को दिन बाँधेर राखी चपाउनै नसक्ने हलिमलि अर्थात बकुला, भतमास, मकै खान दिएको कथन रहेको छ ।आजको चढाउने मुख्य चीजहरुमा मकै, भट्मास विभिन्न प्रकारको गेडगुडी, आरुको बियाँ,मौसम अनुसारको फलफुल काँक्रा, नासपाटी,स्याउ,मुला आादि राखेर राती घर भित्र चन्द्रमा उडाएपछि चोर देवता आयो भनेर पुज्ने चलन छ , आाजको दिन चन्द्रलाई हेरेमा वा चन्द्रको प्रकाश देखिएमा चोरीको आरोप प्रत्यारोप लाग्न सक्छ त्यसैले सवैजना छिटो घर पस्ने अनि समयवजी सेट तयार गरी भोज खाने चलन छ । परमपरामा स्वर्गवाट इन्द्रको आामाले पारीजातको फूल लिन पठाउदा इन्द्रलाई किसानले चोर भनेर पक्रेर राखेकोले चथा द्यः भनेर इन्दलाई मानिन्छ । यसरी चोर देवता चथा द्योः लाई पुजा गर्दा मिठो मसिनो खुवाउँदा चोर पल्किन्छ कि तर्रो आरुको बियाँ, मकै भट्मास अमिला चीज चढाएर चोर भगाउन खोजिएको हो भन्ने मान्नयता छ । यसर्थ यस दिन देवताका राजा देवराज इन्द्रलाई नेवारहरु खुं द्य अर्थात चोर देवताको रुपमा मानेर हलिमली खुवाउने र खाने गर्दछन् ।

प्रचलित आख्यान अनुसार कुनै बेला हाल मरु गणेशको मन्दिर भएको ठाउँमा अशोक जातको विशाल रुख थियो । एकदिन यसै रुखमुनि सम्पूर्ण देवताहरूको भेला भएछन् । बडेमानको भुँडी भएका गणेश चाहीँ छुचुन्द्रो चढेर ढिलो पुगेछन् । गणेशलाई देखेर चन्द्रमा खिसी गर्दै हाँस्न थालेछन् । झूठो रूपको घमण्ड गर्ने चन्द्रमाले गणेशलाई यसरी खिसी उडाएको देखेर गणेश भगवान् रिसाएर क्रुद्ध भएछन् । गणेशले चन्द्रमालाई जस–जसले तिमीलाई रातमा देख्छ सबै चोर बनोस्, तिम्रो चमकको श्रोतबाट प्रकाश नै तिमीमा नपरोस् भनी श्राप दिएछन् । श्रापबाट भयभित सबै देवताहरू चन्द्रमालाई देखेर चोर बन्नुपर्ला भनी त्यहाँबाट भागेछन् । पछि देवताहरूको सामूहिक आग्रह तथा चन्द्रमाको अनुनय-विनयपछि गणेश भगवानले श्राप फिर्ता त लिए तर दिइसकेको आफ्नो श्राप पूर्ण रूपमा फिर्ता लिन नमिल्ने भएकोले श्रापको मात्रा कम गरी बर्षमा एक दिन अर्थात श्री गणेशजीको आफ्नै जन्मदिन भाद्र शुक्ल चतुर्थीका दिन कसैले चन्द्रमाको रूप नहेरोस्, यदि हेरेमा झूठा दोष, मिथ्याः आरोप लाग्नेछ र जगतले चन्द्रमाको यस्तो झूठो अभिमानलाई सधैँ याद गर्नेछ भनेर श्राप मुक्त गरेको कथन प्रचलित रहेको छ । यसैकारण गणेश चौथीको दिन कसैले पनि चन्द्रमा हेर्न हुँदैन भन्ने जनविश्वास रही आएको छ ।

भगवान् कृष्णले संयोगबस यसै दिन चन्द्रमा हेरेको र स्यमन्तक मणी चोरको दोष लागेको प्रसङ्ग पाइन्छ । कथा अनुसार सत्रजित नामको एक व्यक्तिले सुर्य देवताको स्तुति गरि तपस्या गर्ने क्रममा सुर्यदेवले प्रसन्न भइ स्यमंतक नामक मणि दिएको रहेछ । सत्रजितले सो मणि लिएर भगवान कृष्णलाई द्वारिकामा भेट्न गएछ । मणि देखेर भगवान कृष्ण प्रसन्न भइ यस्तै मणि आफुले पनि पाउने इच्छा ब्यक्त गरेछ । यस कुरालाई लिएर सत्रजितलाई मनमा लागेछ र उसको आफ्नो भाइ प्रसेनलाई सो मणि सुरक्षित साथ् राख्न दिएछ । त्यहि समयमा प्रसेन सिकार खेल्न गएछ र फर्केनछ । तब सत्रजितले श्री कृष्णलाई मणि चोरी गरेको आरोप लगाएको रहेछ । आफुलाई आरोप लागेपछि भगवान कृष्णले सत्य तथ्य पत्ता लगाउन खोज्दै जाने क्रममा एउटा गुफाभित्र एक जम्बुवन्तको छोऱाले सो मणि खेलिरहेको देखे ऱ जम्बुवन्तसंग युद्ध गरेऱ हराएछ र जम्बुवन्तले मणि फिर्ता दिएछ । भगवान कृष्णले उक्त मणि सत्रजितलाई लगेर फिर्ता गरि आरोपबाट मुक्ति पाए ।

भक्तपुरमा भने गणेश चौथीको दिन राक्षसको प्रतिक मूपात्र जात्राको सन्दर्भ पनि जोडिएको पाइन्छ । स्वर्गका राजा देबराज इन्द्रकी आमा बसुन्धरालाई गणेश चौथीको दिन ब्रत बस्न पारिजात फूलको आवश्यकता भएकोले देवराज इन्द्रको छोरा जयन्तलाई फूल खोज्न पठाइयो । पारिजात फूल खोज्दै जाने क्रममा दैत्यहरुको बगैंचामा पारिजात फूल टिप्दै गरेको बेला राक्षसहरुले जयन्तलाई पक्राउ गरे । जयन्तलाई छुट्याउन देवता र राक्षसहरुको संग्राममा देवताहरुको जित भए पछि राक्षसहरुलाई जनतामाझ शहर परिक्रमा गरेको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भए अनुसार भक्तपुरमा मूपात्र जात्रा चली आएको जनाविश्वास रही आएको छ ।

– यज्ञम्वर श्रेष्ठ