यो सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको र भ्रष्टाचारीको हो : प्रचण्ड

राजनीति

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार भ्रष्टाचारीहरूको सरकार भएको आरोप लगाएका छन्।

शनिवार काठमाडौँ–नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूको सरकार भएको बताए। उनले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको फाइल खोल्न थालेपछि भ्रष्टहरू डराएर तत्कालीन सरकार ढालेर वर्तमान सरकार बनाएको दावी गरे।

उनले यो सरकार दलाल, पुँजीपति, बिचौलिया, कमिसनखोर, जाली र फटाहाको प्रतिनिधिको रूपमा रहेको बताए। उनले आफू समातिने हुँ कि भनेर भ्रष्टाचारीहरूमा पैदा भएको डरका कारण यो सरकार बनेको बताए। उनले भ्रष्टाचारीलाई जोगाउन यो सरकार बनेको जिकिर गरे।

प्रचण्डले भने‚ ‘जब हामीले भ्रष्टाचारका विरुद्ध एकपछि अर्को फाइल खोल्दै गयौँ। सुशासनको पक्षमा आफ्नो अभियान अगाडि बढाउँदै लग्यौँ। सामाजिक न्यायको पक्षमा, उत्पीडित वर्ग, समुदायको पक्षमा अघि बढाउँदै लग्यौँ। आर्थिक समस्या समाधान गर्दै लग्यौँ। तब यो देशका दलालहरू, बिचौलियाहरूमा छटपटी पैदा भयो। तिनीहरूभित्र आतंक पैदा भयो। त्यसकारण उनीहरुले यो सरकारलाई हटाउनैपर्छ भनेर दलाल, पुँजीपति, बिचौलिया, कमिशनखोर, जाली, फटाहाले नेपाली काँग्रेस र एमाले नेताहरूलाई प्रतिनिधि बनाएर सरकार बनाइएको हो। त्यसकारण यो भ्रष्टाचारीहरुकै सरकार हो। भ्रष्टाचारीहरुकै रक्षाका निम्ति बनाइएको सरकार हो।’

अध्यक्ष दाहालले सरकारसँग भएको दुई तिहाइले केही नगर्ने बताए। जनताको आकांक्षा र जनभावना विपरीत गएमा दुई तिहाइ बहुमतलाई जनताले ठेगान लगाइदिने उनको भनाइ छ।

उनले आफूहरू जीवित हुँदासम्म दुनियाँको कुनै तागतले पनि संविधान संशोधन गर्न नसक्ने दाबी गरे। अध्यक्ष दाहालले माओवादी केन्द्रलाई कसैले फुटाउन नसक्ने बताए। उनले फुटेर गएका माओवादी शक्ति पनि छिटै एकताबद्ध भइसक्ने बताए।