दुई ठूला दल एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज : गृहमन्त्री

राजनीति

गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताएका छन् । यसले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको बताउनुभयो । शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूलाको समिकरणबाट निर्माण भएको यो सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न समेत सघाएको दावी गर्नुभयो । १८ वर्षदेखि संक्रमणकालिन न्याय सम्बन्धि विषय निश्कर्षमा पुग्न सकि रहेको थिएन तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एकठाउँमा उभिदा संक्रमणकालिन न्याय सम्बन्धि विषय निश्कर्षमा पुर्याउन सफल भएको बताउनुभयो । यसले जटिल समस्या समाधान मात्रै गरेको छैन मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको उहाको भनाई थियो ।

गृहमन्त्री लेखकले कांग्रेस र एमाले एकठाउँमा आएर महज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्याहरुलाई समाधान गर्ने अभिप्रायले यो समिकरणको निर्माण गरिएको बताउनुभयो । उहाले ‘केही दिनमै समिकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रुपमा स्थायित्व पाएन, यसले प्रत्यक्ष सेवा प्रवाहलाई समेत प्रभावित गर्यो ।’ अगाडी भन्नुभयाे ‘अहिले निर्माण गरिएको नयाँ समिकरण मुलुकका लागि निर्विकल्प छ, यो समिकरण निश्कर्षमा नपुगेसम्म यसको विकल्प खोज्नु उचित हुने छैन ।’