ज्वानो: हाम्रो भान्सामै पाइने बहुमूल्य औषधि

रोचक

ज्वानो, हाम्रो नेपाली भान्सामा सजिलै पाइने एक मसला हो। यसको प्रयोगले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ। आयुर्वेदमा ज्वानोलाई उष्ण प्रकृतिको मानिन्छ र यसको प्रयोगले विभिन्न स्वास्थ्य समस्याहरू समाधान गर्न मद्दत गर्छ।

नेपालमा परापूर्वकालदेखि नै सुत्केरी अवस्थामा ज्वानोको प्रयोगलाई विशेष महत्व दिइँदै आएको छ। ज्वानोमा प्रशस्त मात्रामा क्याल्सियम पाइन्छ जसले गर्दा सुत्केरी महिला र नवजात शिशुको लागि आवश्यक क्याल्सियमको पूर्ति हुन्छ। ज्वानोले दूध बढाउन पनि मद्दत गर्छ, जसले गर्दा बच्चाको स्वास्थ्य विकासमा महत्वपूर्ण भूमिका खेल्छ। ज्वानोले पाचन प्रक्रियालाई बलियो बनाउँछ। यसले पेट फुल्ने, ग्यास, कब्जियत जस्ता समस्याहरूबाट मुक्ति दिलाउँछ। ज्वानोमा पाइने एन्टिब्याक्टेरियल गुणले हानिकारक जीवाणुहरूलाई नष्ट गर्न मद्दत गर्छ।

यसले पाचनशक्ति बढाउँछ, हानीकारक जीवाणु एवम् कृमिनाश गर्छ, वायुविकार हटाउँछ। गर्मी, सर्दी दुबै मौसममा अनुकुल ज्वानोले फाइदा गर्छ। पेट दुखाइ कम गर्न, पेटका कृमिहरु नाश गर्न र पाठेघर सबल पार्न ज्वानोको प्रयोग फाइदा जनक छ। ज्वानोको बढी प्रयोग गर्दा हानी देखिएमा धनियाँको प्रयोग गर्नुपर्ने कुरा आयुर्वेदले मानेको छ।

पेट दुखेमा ज्वानो पानी पकाएर थोरै नून मिसाई खान दिँदा पेट दुखेको कम हुन्छ। पेट फुलेमा भुटेको ज्वानो एक चम्चा र थोरै बीरेनून मिसाई पिस्ने र त्यो पाउडरलाई एकडेढ चम्चा तातो पानीसँग खाने गर्दा पेट फूल्ने ठिक हुन्छ। महिलाहरुमा सेतो पानी बग्ने समस्या भएमा नियमित रुपले चौलानी पानीमा भुटेको ज्वानोको पाउडर राखी फिटेर केही महिनासम्म पिउने गर्दा सुधार हुन्छ। ज्वानोको प्रयोग झोल बनाउँन, तरकारी एवम् भात, रोटी वा अन्य खानेकुरा आदि पनि गर्न सकिन्छ।

ज्वानो हाम्रो भान्सामा सजिलै पाइने एक बहुमूल्य औषधि हो। यसको नियमित प्रयोगले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ।