बगलादेशमा जारी विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका अधिकांश नेपाली विद्यार्थीहरू स्वदेश फर्किसकेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै दूतावासले बंगलादेशमै रहेका करिब ४ सय विद्यार्थीसहित नेपालीहरू सुरक्षित रहेको उल्लेख गरेको हो । विद्यार्थीहरु सबै दूतावाससँगको समन्वयमा रहेको विज्ञप्तिमार्फत जानकारी गराइएको हो ।
विद्यार्थीको आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रर्दशन भइरहेको, बङ्रुगलादेश सरकारबाट हाल अनिश्रुचितकालीन कर्फ्यु आदेशसमेत जारी भएको लगायतका जानकारी गराउँदै दूतावासले नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । नेपाल फर्किन चाहने विद्यार्थीहरू तथा समस्यामा परेकालाई सम्पर्क गर्न दुतावासको आग्रह छ ।
दुतावासको आग्रह :
बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भईरहेको र बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेश समेत जारी भएको सन्दर्भमा बङ्गलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ।
बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरु सहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र वहाँहरुसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ।
साथै, नेपाल फर्किन चाहने विद्यार्थीहरु तथा सम्पूर्ण नेपालीहरुले यस राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भईसकेपछि मात्र यात्रा गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
आवश्यक समन्वयको लागि यस राजदूतावासका निम्न नम्बरहरुमा सम्पर्क गर्नुहुन अनुरोध छ।
योजना बम्जन, द्वितीय सचिव: +8801880691013
रिया क्षेत्री: +8801745407958



