खिर : नेपाली समाजको प्रिय परम्परा
साउन १५ गते नेपाली समाजमा विशेष महत्वको दिन हो । यस दिन खिर खाएर मनाउने परम्परा रहेको छ । वर्षायाममा असार १५ गते दही च्यूरा र साउन १५ गते खिर खाने प्राचीन नेपाली परम्परा हो ।
साउने झरीको बेला तातो खिरले स्वास्थ्यलाई फाइदा पुर्याउने विश्वास गरिन्छ । दूध, मसला तथा अन्य सामग्री मिसाएर बनाइने खिर स्वास्थ्यवर्द्धक मानिन्छ । संस्कृतमा पायस भनिने खिर सात्विक आहार हो । यसलाई पितृ तथा देवकार्यमा महत्वपूर्ण मानिन्छ । साउन महिनामा खेतीपातीको काम सकिने भएकाले हरियाली बढ्छ । यस समयमा गाई, भैँसीले धेरै दूध दिन्छन् । प्रशस्त दूध भएपछि इष्टमित्र तथा छोरीचेलीलाई बोलाएर खिर खाने चलन बसेको हो ।
नेपाली बृहत् शब्दकोशमा खिरलाई ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हालेर पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी व्याख्या गरिएको छ ।
साउनलाई भगवान शिवको महिना मानिन्छ । शिवलाई दूध तथा दूधबाट बनेका परिकार मन पर्ने भएकाले खिरलगायत मिठाई चढाउने गरिन्छ । यसैले साउनको मध्यतिर खिर खाने चलन बसेको हुन सक्छ । तर यसको कुनै शास्त्रीय आधार भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा ब्राह्मणलाई निमन्त्रणा गरी पायस अर्थात् खिर खुवाउने चलन थियो । खिर खानुअघि देवतालाई चढाउने धार्मिक विश्वास छ ।


