श्यान्टु र प्रिन्स पराजित

खेलकुद

शनिबार भएको खेलमा श्यान्टु प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा सेनेगलका इब्राहिम डिउसँग  श्यान्टु ४–० को सोझो सेटमा पराजित भएका छन् ।

‘बेस्ट अफ सेभेन’ को खेलमा इब्राहिमले श्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराएका हुन् ।

इब्राहिमलाई जित निकाल्न २४ मिनेट लागेको थियो । पहिलो हारसँगै श्यान्टु प्रतियोगिताबाट बाहिरिएका छन् ।

चारपटकका राष्ट्रिय च्याम्पियन श्यान्टु दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा चार पदक जित्ने खेलाडी हुन् । नेपालले टेबलटेनिसमा पहिलोपटक ओलम्पिकमा सहभागीता जनाएको हो ।

खेलपछि श्यान्टुले सोचेभन्दा फरक भएको भन्दै प्रतिद्वन्द्वी आफू भन्दा धेरै माथिल्लो स्तरका खेलाडी भएको बताएका छन् ।

प्रिन्स विश्व नम्बर दुई भिक्टरसँग  पराजित

नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आइतबार समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष दुई स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनसँग २–० को सोझो सेटमा पराजित भएका छन् । विश्व वरियताको एक सय ७२औँ स्थानमा रहनुभएका प्रिन्स भिक्टरसँग २१–८, २१–६ को सोझो सेटमा पछि परेका हुन् ।

प्रिन्सको समूहमा भिक्टरसहित चार खेलाडी छन् । अब प्रिन्सले जुलाई २९ तारिखमा आयरल्यान्डका हात गुयेन तथा जुलाई ३१ मा इजरायलका मिसा जिल्बरम्यानसँग खेल्नेछन् । विश्व वरीयतामा हात ४३औँ तथा मिसा ५८औँ स्थानमा छन् ।

प्रिन्सले ‘इन्भिटेसन प्लेसेस’ कोटामा पेरिस यात्रा पक्का गरेका हुन् । प्रिन्सलाई अलसाबाडरका प्रशिक्षकले प्रशिक्षकको रुपमा सहयोग गर्नुभएको छ ।