प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा एक घण्टा २५ मिनेटसम्म ‘पसिना’ आएको छ । आज मध्याह्न १२ बजेर १५ मिनेटदेखि १ बजेर ३० मिनेट जाँदासम्म शिलामा ‘पसिना’ आएको स्थानीयले जानकारी दिए ।
यसपटक शिलाको बायाँ र बीच दुवै भागमा ‘पसिना’ आएको बताइएको छ । बायाँ भागमा ‘पसिना’ आउँदा अनिष्ट हुने बताइन्छ । भीमेश्वरलाई ‘पसिना’ आएपछि मन्दिर परिसरमा ठूलो संख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका थिए । भीमेसनको शिलामा ‘पसिना’ आएपछि स्थानीयवासी भेला भएर घण्ट, नगरा, स्थानीय बाजा बजाउँदै ‘कुनै अनिष्ट नहोस्’ भनेर कामना गर्ने र शिलालाई चमरले हम्किने चलन छ ।
भीमसेनलाई ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टसहित सबै प्रकारका बाजा बजाइन्छ । ‘पसिना’ आएको खबर सार्वजनिक हुनासाथ दर्शनार्थी मन्दिर परिसरमा पुगेका थिए ।
शिलामा आएको ‘पसिना’लाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ । साथै, शिलाको ‘पसिना’ पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउने प्रचलन छ । शिलामा ‘पसिना’ आएपछि प्रजिअलगायत सुरक्षा निकायका प्रमुख मन्दिर परिसरमा पुगेका थिए । भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितिहरुसँग बैठक राखेर राष्ट्रप्रमुखसमक्ष महाप्रसाद पठाउने चलनानुसार आइतबार राष्ट्रपति कार्यालयमा प्रसाद पठाइने निर्णय गरिएको बताइएको छ ।


