बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ ।
यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भित्रिएका पर्यटकलाई बागलुङबजारसम्म ल्याउनका लागि बजारभित्र रहेका पुराना बजार, संस्कार र संस्कृतिको संरक्षणसँगै प्रचारप्रसार गर्न थालिएको नगरपालिकाले जनाएको छ । बागलुङबजारमा संरक्षित गरिएको लोपोन्मुख हनुमान नाच, महिला मगर बाजा, पुरानो बजारका रुपमा रहेको देउराली चोक, कम्पुटोल र किनरा टोललाई संरक्षण गर्ने गरी नगरपालिकाको नीति छ ।
बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई सो नगरपालिकाले विश्व सम्पदामा सूचीकरण गर्न पहल गर्ने जनाएको छ । नगरपालिकाले हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरणको आवश्यक काम अगाडि बढाइने जनाउँदै संरक्षणका लागि बजेटसमेत विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।
करिब तीन सय वर्ष पुरानो नाचका रुपमा रहेको र काठमाडौँमा लोप भइसक्न थालेको तर बागलुङमा जोगाएर राखिएको हनुमान नाचलाई पालिकाको विशेष संस्कृतिका रुपमा विश्वसामु चिनाउने उदेश्य रहेको नगरपालिकाले जनाएको छ, साबिकको धौलागिरि अञ्चलको प्रमुख व्यापारिक थलोका रुपमा रहेको बागलुङ बजारको देउराली चोक, कम्पु टोल र किनारा टोलका ऐतिहासिक घरलाई संरक्षण गर्ने र मुस्ताङ हिँडेका पर्यटकलाई कालिका मन्दिर दर्शन गराएर बागलुङबजार भित्र्याउने योजनारहेको नगरपालिकाले जनाएको छ ।
तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान् नाच बागलुङमा सुरक्षित छ । पछिल्लो समय पुस्तान्तरण नहुँदा हराउने सक्ने चिन्तासमेत स्थानीयमा छ । पर्यटन प्रवद्र्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो ।
हनुमान नाँच संरक्षण, मगर बाजा संरक्षण र मगर बाजा प्रशिक्षण, पुराना घर संरक्षणमा नगरपालिकाले बजेट विनियोजन गरेकोे तथा विश्व सम्पदा सूचीमा राख्नका लागि आवश्यक कामको थालनी गरेको नगरपालिकाले जनाएको छ ।
मानिसले बाँदरको भेष बनाएर नाचिने भएकाले हनुमान नाच भनिएको जनाइएको छ । कम्तीमा १३ जोडी र बढीमा १५ जोडी हनुमान बनेर पँधेराबाट यो नृत्य सुरु गरेर बजार घुमाउने चलन छ । ‘अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वासले यो नृत्य देखाइन्छ । युवाहरूलाई व्रहमचर्यमा रहन पनि सिकाउने भएकाले लोप हुन नदिने छोटा बताउँछन् । १६ वर्षदेखि ४० वर्षका युवालाई हनुमान बनाइने र बन्नुपूर्व साता दिनसम्म युवाहरूले व्रहमचर्यमा बस्नुपर्छ । रामायणको कथामा आधारित नाँच भएकाले हिन्दुधर्म मान्ने सबैले यो संस्कृति संरक्षणमा भाग लिन्छन् ।
यो नाच कसले किन सुरु गरेको भन्ने यकिन भने अहिलेसम्म भेटिएको छैन ।



