रिद्धिसिद्धिविरुद्ध सबै सुन व्यवसायी

अर्थ

सुनचाँदी व्यवसायीहरूका संगठनहरूले बुधबार काठमाडौंमा ‘सुनचाँदी व्यवसायी र श्रमजीवी कालिगढ एकता’ को नारा दिएर विरोध र्‍याली गरे ।  सुनचाँदी व्यवसायीका १० वटा संघहरू मिलेर ‘सुनचाँदी व्यवसायी तथा कालिगढ बचाउ’ अभियानको नाममा यो पदयात्रा गरेका थिए ।

न्यूरोड गेटबाट सुरु भएको उक्त पदयात्रा इन्द्रचोकमा पुगेर टुङ्गिएको थियो ।  व्यवसायीले बुधबार काठमाडौंमा भएका सुनचाँदी पसलहरू बन्द गरेर सञ्चालक तथा कर्मचारी उक्त यात्रामा सहभागी थिए ।

काठमाडौं सुनचाँदी व्यवसायी संघले बुधबार सम्पूर्ण व्यवसायी सदस्यहरूलाई पसल बन्द गरेर र्‍यालीमा आउन भनेर पत्र काटेको थियो ।

संघले खुलाएर नै भन्सार दर, व्यवसायीहरूलाई व्यवसाय गर्न ऐन, नियम, मापदण्ड माग गर्दासमेत प्रकाशन नभएको र एक व्यवसायीले एकलौटी रूपमा सस्तो प्रचार गरेको विषय कालिगढ र व्यवसायीमुखी नभएको भन्दै त्यसमा विरोध जनाउन पनि उपस्थित हुन भनिएको थियो ।

र्‍यालीमा उपस्थित भएकाहरूले ‘रिद्धिसिद्धि मुर्दावाद’ भन्दै सो पसलको अगाडि नाराबाजी गरेका थिए । यसरी रिद्धिसिद्धि विरुद्ध खनिनुको कारण थियो, रिद्धिसिद्धिले पछिल्लो समय निकालेको विज्ञापन ।

रिद्धिसिद्धिले एकलौटी रूपमा यसरी अरू व्यवायीलाई नै असर पर्नेगरी विज्ञापन गरेको भनेर सुरुदेखि नै रत्न व्यवसायी संघ नेपाल, नेपाल सुनचाँदी कला व्यवसायी संघ र नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघले विरोध गर्दै आएका थिए ।

त्यस्तै, ललितपुर सुनचाँदी व्यवसायी संघ, नेपाल चुनचाँदी व्यवसायी संघ काभ्रे, भक्तपुर सुनचाँदी व्यवसायी संघ, नेपाल रत्न तथा आभूषण संघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मन्च र नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले पनि विरोध जनाउँदै आएका थिए ।

¥यालीमा पनि यी संस्थाहरूमा आवद्ध व्यवसायीहरू र तिनका कर्मचारी उपस्थित थिए । यसअघि ज्याला र जर्तिमा १२ प्रतिशतसम्म शूल्क लिँदै आएकोमा रिद्धिसिद्धिले अहिले ७ प्रतिशत मात्र लिने भन्ने विज्ञापन गर्दै आएको छ । यो छुट असार १५ गतेसम्म भनिएको छ ।

जर्तिको नाममा उपभोक्ता ठगिएकाले उपभोक्तालाई सजग गराउन आफूले जर्तिको पैसा नलिने निर्णय गरेको रिद्धिसिद्धिका सञ्चालक नरेन्द्रकुमार गुप्ता बताउँछन् । आफू नेपाल रत्न तथा आभुषण संघ काठमाडौंको वरिष्ठ उपाध्यक्ष हुँदा उपभोक्ताको हितमा काम गरौंभन्दा निष्कासित हुनु परेको पनि बताउँछन् ।

बजारमा बैध तरिकाले आउने सुन न्यून छ । मूल्य उच्च हुँदै जाँदा गुप्ताले छुट दिएर ठूलो कारोबार गर्दा शंका गर्नुपर्ने ठाउँ प्रशस्त भएको व्यवसायीहरू बताउँछन् ।

मनोमानी तरिकाले व्यवसायीले एकलौटी निर्णय गरेको भन्दै राज्यले नै नियन्त्रण गर्नुपर्ने व्यवसायीहरुको माग थियो ।  आभूषण संघले नरेन्द्रकुमार गुप्तालाई वरिष्ठ उपाध्यक्षबाट हटाएको थियो ।

यसरी आफूलाई सदस्यसमेत नरहनेगरी संघबाट हटाएपछि गुप्ताले एकपक्षीय रुपमा बजारमा गतिविधि गर्दै आए हुन सक्ने पनि व्यवसायीको बुझाइ छ ।  संघमा रहँदा उनले संघको प्रतिष्ठामा आँच पुग्ने कार्य गरेकाले हटाइएको कार्यसमितिका सदस्य बताउँछन् ।