वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

राजनीति

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।

सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायीमार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गर्नुभएको हो ।

मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । यात्रा गर्नुपूर्व तीन घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्ने हुन्छ । गन्तब्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन् ।

यसरी वैदेशिक रोजगारीमा जाँदा घण्टौसम्म भोक भोकै बस्नु पर्ने अवस्था छ । त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरी दिन मन्त्री अर्यालले आग्रह गर्नुभएको हो । “मुलुक भित्रै अवसरमा नपाएर युवाहरु विदेशिछिन् । विदेसिंदै गर्दा पनि हामी श्रमिकलाई घण्टौसम्म भोकै राख्छौ,”उहाँले भन्नुभयो । कम्तिमा पनि जहाज भित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिनुस् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना दिनुपर्ने बिषयमा व्यवसायीहरु पनि सकरात्मक रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो । “यस बिषयमा हामीहरु पनि गम्भिर छौ । एयरलाईन्स कम्पनीहरुले व्यवसायिक फाईदालाई मात्रै हेर्ने हुँदा श्रमिकहरु भोकै रहनुपर्ने अवस्था आएको हो,” उहाँले भन्नुभयो । त्यसैले नेपाल नागरिक उडड्यन प्राधिकरणले नै एयरलाईन्सलाई अनिवार्य रुपमा खाना उपलब्ध गराउनु पर्ने नियम बनाईदिनुपर्नै उहाँको भनाई छ ।

नेपालबाट औसत एक हजार पाँच सय युवा दैनिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्वका विभिन्न मुलुकमा जाने गरेका छन् । यि मुलुकहरुमा विभिन्न एयरलाईन्स उडान भर्दै आएका छन् ।

छलफलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क, मागपत्र प्रमाणीकरण लगायतका बिषयलाई व्यवहारिक बनाउन व्यवसायीले आग्रह गरेका थिए ।