सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना विशेष अभियान

समाचार

सडक प्रयोगकर्ताहरुको सुरक्षाका लागि सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ ।

आजबाट सुरु भएको ट्राफिक प्रहरीको यो विशेष अभियान वैशाख ८ गतेसम्म चल्ने छ । सवारी साधानहरुमा पनि सबैभन्दा धेरै दुर्घटनामा पर्ने गरेको दुई पाङग्रे सवारीलाई मध्येनजर गर्दै,  चालकहरुलाई विभिन्न सवारी दुर्घटनाबाट बच्ने सचेतनामुलक सन्देशप्रवाह सुरु गरिएको छ ।

यस्ता कार्यक्रम काठमाडौं उपत्यकाको विभिन्न सडकहरुमा अबको ७ दिनसम्म हुने छन् । नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले विशेष सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ ।

हाम्रो सडक, मेरो सवारी ट्राफिक नियम पालना पनि मेरो जिम्मेवारी भन्ने ट्राफिक प्रतिवद्धताका साथ यो अभियान ट्राफिक प्रहरीले सुरु गरेको हो । आइतबारबाट सुरु भएको यो अभियान आगामी बैशाख ८ गतेसम्म सञ्चालन हुनेछ ।

यो अवधिभर ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमको आयोजना गर्नेछन् । जसमा यात्रुमैत्री विशेष अभियानमा आरक्षण सिट कार्यन्वयन, बढी भाडा कारवाही, भाडादर सुची चेकजाँच, यात्रुमैत्री व्यवहारको अनुगमन समेत गर्ने छन् ।

त्यस्तै पैदलयात्रीसंग १ मिनेट कार्यक्रम, मोटरसाइकल चालकसंग २ मिनेट कार्यक्रम, माईति घर—सिंहदरबार—कमलादीमा जिरो ट्राफिक भ्वाइलेन्स कार्यक्रम सञ्चालन, किप किलियर, यान्त्रिक÷प्रदुषण चेकजाँच, स्पेयर टायर चेकजाँच, प्रहरी ब्याडबाट डिस्प्ले, ट्राफिक एफ.एममा ट्राफिक सचेतना विशेष संवाद कार्यक्रम लगायत कार्यक्रम यो अभियानभरी सञ्चालन हुने छन् ।

चालक र सहचालकका लागि चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले सुरक्षित सडक यात्राका लागि यात्रुको पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहने जनाएको छ ।

काठमाडौं उपत्यकामा दैनिक १५ देखि २० वटासम्म सवारी दुर्घटना हुने गरेको तथ्याङ्क छ । जसमा १ जनाले दैनिक ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

ट्राफिक प्रहरीले मानवीय ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यो अभियानले ट्राफिक व्यवस्थापनमा केही सहज हुने विश्वास लिएको छ ।