पाणिनि गाउँपालिका–२ अर्घाखाँचीमा बाँदरको आतंक र अचाक्ली रोक्न भोटे जातका कुकुर बाँड्न सुरु गरिएको छ । खेतबारीमा अन्नबाली, फलफूल र तरकारी बाँदरले नोक्सानी गरेर हैरानी पारेपछि यसको रोकथामका लागि बुधबारबाट कुकुर बाँड्न थालिएको वडाले जनाएको छ ।
यसअघि वडाले किसानका हातमा प्लास्टिक–पाइपबाट बनाइएका बन्दुक दिएको थिए । खेतबारीमा काँडेतार लगाएर पनि बाँदरबाट बाली जोगाउने उपाय अपनाइएको थियो । तर, केही गरे पनि बाँदर नियन्त्रण नभएपछि यहाँका किसानलाई पछिल्लो समय कुकुर बाँड्न सुरु गरिएको वडाले जनाएको छ ।
धादिङबाट ३, कास्कीको माछापुच्छ्रे गाउँबाट ४ र लेखनाथबाट २ वटा भोटे कुकुर ल्याएर किसानलाई वितरण गरिएको छ । ४० देखि ६० दिनका ९ वटा कुकुर ल्याएर बाँडेको वडाले जनाएको छ ।



