माओवादी बैठकमा काँग्रेस महासमितिको चर्चा,राष्ट्रिय सभाको अध्यक्ष नछाडन नेतृत्वलाई दवाव

राजनीति

नेकपा माओवादी केन्द्रको बैठकमा नेताहरुले नेपाली काँग्रेस भर्खरै सम्पन्न महासमिति बैठकका निर्णयबारे चर्चा गर्दै त्यस बारे पार्टी नेतृत्व स्पष्ट हुन आग्रह गरेका छन् ।

पार्टी मुख्यलय पेरिशडाँडामा बसेको स्थायी कमिटी बैठकमा बोल्ने नेताहरुले काँग्रेस महासमिति बैठकबाट भएका निर्णय र पारित प्रतिवेदनले गठबन्धनमा के कस्तो प्रभाव राख्छ भन्ने विषयमा पार्टी नेतृत्वाई स्पष्ट पार्न आग्रह गरेका हुन ।

सत्ता सहयात्री दल नेपाली कांग्रेसको महासमिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्ताव र माओवादीले नेतृत्व गरेको दश वर्षे युद्ध आवश्यक नभएको भनि उल्लेख गरिएको उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्तावका सम्वन्धमा आफ्नो दल स्पष्ट हुनुपर्ने धारणा नेतारुले राखेका थिए ।

आजको बैठकमा काँग्रेस महासमिति बैठकले पारित गरेका प्रस्तावका विषयमा नेताहरुले धारणा राख्नुका साथै राष्ट्रिय सभाको अध्यक्षमा आफ्नै दलको उम्मेदवार उठाउनु पर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनु भयो ।

‘बैठकमा राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । र, त्यस सम्बन्धमा चाहिँ अन्तिम निर्णय भोलि हुन्छ। अधिकांशले चाहिँ राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ।’ प्रवक्ता सापकोटाले भन्नुभयो ।

भोलि बस्ने बैठकमा राष्ट्रिय सभा अध्यक्षका विषयमा निर्णय हुने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।