२०८१ बैशाख १२

चलचित्र पत्रकार संघको प्रथम राष्ट्रिय भेला एवं चलचित्र पत्रकारिता कार्यशाला गोष्ठि सुरु

मनोरंजन

चलचित्र पत्रकार संघको प्रथम राष्ट्रिय भेला एवं चलचित्र पत्रकारिता कार्यशाला गोष्ठि बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारदेखि सुरु भएको छ ।

भेला तथा गोष्ठीको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले उद्घाटन गर्नुभयो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख लामाले नेपाली कला संस्कृतीको संरक्षणमा नेपाली चलचित्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

चलचित्र नरहे नेपाली संस्कृति र पहिचान पनि नरहने उहाँको धारणा थियो । मेयर लामाले फिल्म स्टुडियो बनाउन हेटौंडा उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,“बोर्डले नेतृत्व लिएमा उपमहानगरपालिकाले आर्थिक लगायतका सहयोग गर्न तयार छ ”।

कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन पारित नुहँदा चलचित्र क्षेत्रमा सोचे अनुरुप कार्य गर्न नसकिएको बताउनुभयो ।उहाँले चलचित्र विकास बोर्डलाई स्वायत्त राख्ने गरी नयाँ ड्राफ्ट तयार भैरहेको बताउनुभयो ।

अध्यक्ष केसीले चलचित्र नै नरहे निर्माता, निर्देशक, कलाकार चलचित्र पत्रकार कहाँ रहला र ? भन्दै प्रश्न गर्नुभयो । विदेशी चलचित्रको अतिक्रमणबाट बचाउन नेपाली चलचित्रको प्रोत्साहन आवश्यक रहेकोमा उहाँको जोड थियो । नेपाली चलचित्र क्षेत्र यो अवस्थामा आइपुग्नुमा पत्रकारहरुको भूमिका स्मरणीय रहेको उहाँलेले बताउनुभयो ।

चलचित्र पत्रकार संघ मकवानपुर शाखाले समन्वय तथा व्यवस्थापन आयोजित कार्यक्रम फागुन ८ गतेसम्म चल्नेछ । गोष्ठिमा सिनेमा र पर्यटनका विषयमा ११ सेसनमा छलफल हुने संघका अध्यक्ष समीर बलामीले बताउनुभयो ।

राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायतका विभिन्न कार्यक्रमहरु हुने अध्यक्ष बलामीले बताउनुभयो । भेलामा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको चलचित्र ऐनको मस्यौदा माथि छलफल हुनेछ ।

प्रेस काउन्सिल नेपालले विट पत्रकारिता र हेटौँडाका पत्रकारका लागि पत्रकार आचरसंहितामाथि छलफल हुनेछ । विज्ञापन बोर्डले अनलाइन व्यवस्थापक सम्बन्धी कार्यशाला आयोजना गर्नेछ भने त्यस्तै, सिनेमा पर्यटन, मिडिया प्रमोशन र कर्पोरेट लगानी, फिल्म सेन्सर, केन्द्रीय चलचित्र ऐनमा छलफल तथा अन्तरक्रिया हुनेछ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष नेत्र प्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा लगायतको सेसन रहने आयोजकले जानकारी गराएको छ ।