अपूर्वको पक्राउमा अभियन्ताहरू मौन !

विविध

सामाजिक संजालमा प्रसारण भएको सामाग्रीविरुद्ध उजुरी परेमा प्रहरीले विद्धुतिय कारोबार ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउँदै आएकोमा कमेडियन अपूर्व क्षितिज सिंहको हकमा भने प्रहरीले मुलुकी अपराध संहिता अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

युट्युब च्यानल कमेडी क्याफेमा राखिएको प्रहसनले नेवार समुदायको भाषा र संस्कृतिमाथि ब्यङग्य गरेको उजुरीको आधारमा प्रहरीले सिंहमाथि काठमाडौँ प्रहरी परिसरले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेदको १० को दफा १ सय ६५  विपरीत काम गरेको दाबी गरेको छ।

सो दफामा कसैले कसैको सामाजिक रीति स्थितिमा खलल पार्ने वा खलल हुने गरी झुक्याई वा जबरजस्ती गरी कुनै काम गर्न वा गराउन नहुने उल्लेख छ। सो कसुर प्रमाणित भएमा सिंहलाई एक वर्ष कैद वा दश हजार जरिवाना वा दुवै सजाय हुनसक्छ।

सिंहविरुद्ध परेको उजुरीको आधारमा प्रहरीले सिंहलाई आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पेस गरेर अनुसन्धानका लागि १० दिनको म्याद लिएको थियो। सो अनुसार उनी अहिले काठमाडौँ परिसरको हिरासतमा छन्।

जाहेरी परेको जानकारी पाएपछि सिंह आफैँ प्रहरी कार्यालयमा उपस्थित भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर प्रशासन कार्यालयमा पेस गरेको थियो।

गत शुक्रवार  युट्युब च्यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा उनको प्रहसन सार्वजनिक भएपछि विवाद भएको थियो। विवाद लगत्तै भिडियो हटाएर उनले माफी मागेका थिए। लिखित माफीले मात्रै विवाद साम्य नभएपछि उनले माफी माग्दै भिडियो पनि राखेका थिए।

तर नेवा समुदायका केही अभियन्ताले कमेडीको बहानामा संस्कृतिमाथि नै भद्दा प्रहार गरेको भन्दै कारबाही नै हुनुपर्नेमा अडान लिएपछि प्रहरीले हिरासत र अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।

यस अगाडि फिल्म रिभ्युमा चित्त नबुझाई निर्देशक मिलन चाम्सले दिएको उजुरीको आधारमा स्ट्यान्डअप कमेडियन प्रनेश गौतममाथि साइबर क्राइममा प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको थियो।

प्रनेश पक्राउ परेको बेलामा ‘अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भयो’ भन्दै विरोध प्रदर्शन भएपछि उनी हिरासतमुक्त भएका थिए। र्यापर भिटेनको गीतलाई लिएर उनी पक्राउ पर्दा पनि विरोध भएको थियो। तर सिंह पक्राउ प्रकरणमा सञ्जालदेखि सामाजिक अभियन्ताहरू समेत मौन छन्।