साइबर अपराध गरेको भन्दै पक्राउ परेर थुनामा रहेका १२२ जना चिनियाँ नागरिकलाई चीन नै पठाउने अन्तिम तयारी नेपाल प्रहरीले गरिरहेको छ ।

आरोपीलाई प्रहरीले चीन ‘डिपोट’ गर्न तयारी अवस्था राखेको जनाइएको छ । अनुसन्धानमा अन्य कुनै अपराध गरेको नदेखिएकाले उनीहरूलाई अवैधानिक बसोबास गरेको आरोपमा कारवाही हुने भएको स्रोतले जनाएको छ ।

प्रहरीले अध्यागमन विभागमार्फत अवैधानिक बसोबासको कारवाही गर्नेछ । जसअनुसार आरोपीलाई आफ्नो देश चीन फिर्ता पठाइने छ ।
गत पुस ७ गते साइबर अपराधमा संलग्न भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले १२२ जना चिनियाँलाई पक्राउ गरेका थियो ।
प्रहरीले आरोपीको साथबाट ७४७ मोबाइल र ३३१ ल्यापटप, ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ र ३२७ सीमकार्ड बरामद गरेको थियो । शंकास्पद गतिविधि देखिएकाले प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन थुनामा राख्न म्याद लिएर अनुसन्धान थालेको थियो ।
