म्यानमारमा रक्तपात : ७ सय १ जनाको मृत्यु, ३ हजार १ सय थुनामा

Uncategorized

सैनिकले सत्ता आफ्नो नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ।

आन्दोलनमा लागेकै आरोपमा अरु ३ हजार १ सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ। गत फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको छ। सेनाले सत्ता हातमा लिएदेखि नै म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ।

अनुगमनकर्ताहरुले सार्वजनिक गरेको विवरणअनुसार अरु सयौँ व्यक्ति आन्दोलनका क्रममा घाइते भएका छन् भने कतिपयको अवस्था अझै अज्ञात रहेको छ। पछिल्लो पटक गत शुक्रबार मात्रै एकै दिनमा सुरक्षाकर्मीहरुको आक्रमणमा परी देशको बागो क्षेत्रमा कम्तिमा ८२ जनाको मृत्यु भएको थियो। केही हप्ता अगाडि म्यानमारमा प्रदर्शनकै क्रममा एकैदिनमा सयभन्दा बढीको हत्या भएको थियो।

गत वर्ष सन् २०२० को नोभेम्बर ८ का दिन भएको निर्वाचन र त्यसको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले म्यानमारको सत्ता नियन्त्रणमा लिएको हो। सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ। उक्त चुनावमा आङ सान सु की र उनको ‘नेशनल लिग फर डिमोक्रेसी’ दल निर्वाचित भएको थियो। निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो।

सेनाले सो निर्वाचन निष्पक्ष नभएको दाबी गर्दै फेरि निर्वाचन गराउन भन्दै सत्ता नियन्त्रणमा लिनुपरेको जनाएको छ। सेनाले निर्वाचन गराउने उद्देश्यका साथ एक वर्षका लागि संकटकालसमेत घोषणा गरेको छ। तत्कालीन नयाँ संसदको पहिलो बैठक बस्न लागेकै दिन सेनाले सत्ता नियन्त्रणमा लिएपछि अहिले म्यानमारको राजनीति थप संकटतर्फ धकेलिएको छ।

सेनाले नियन्त्रणमा रहेकी नेतृ आङ सान सुकीलाई सोमबार नयाँ फौजदारी अभियोग लगाएको छ। उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ।