यसरी हुन्छ कपालको तस्करी, केका लागि प्रयाेग हुन्छ काटेकाे केश

Uncategorized

दुई महिना पहिले भारत र म्यानमारको सीमाबाट जफत भएको मान्छेको कपालको मुद्दाले भारतको आन्ध्र प्रदेशको राजनीतिमा तरंग ल्याएको छ । उक्त कपाल तिरुमला तिरुपती देवस्थानम् (टीटीडी) बाट तस्करी भएको आशंका गरिएको छ ।

मुन्डन गरिएको कपालको तस्करीका विषयमा चर्चा चल्न थालेको छ । जफत भएको कपालको मूल्य करिब १ करोड ८० लाख भारतीय रुपैयाँ रहेको अनुमान गरिएको छ । असाम राइफल्सको एक सर्च टीमले मिजोरम राज्यबाट लैजाँदै गरेको अवस्थामा दुई महिनाअघि म्यानमारको सीमाबाट कपाल बरामद गरेको थियो ।

१२० बोरा कपालले भरिएको ट्रक
सामान्यतया मिजोरम क्षेत्रमा जंगली जनावर र सुन तस्करी हुने गरेको भए पनि पहिलो पटक १२० बोरा मान्छेको कपाल बरामद भएको हो । प्रत्येक बोरामा करिब ५० किलो कपाल रहेको जनाइएको छ । ट्रकसँगै पक्राउ परेका ड्राइभरले कपाल तिरुपति मन्दिरबाट ल्याइएको बताएका थिए । मारुयती नाम गरेकी एक महिलाले आफूलाई कपाल ओसार्ने ठेक्का दिएको ड्राइभरले बयान दिएका अधिकारीहरुले बताएका थिए ।

देशभरका अन्य मन्दिरहरुबाट पनि कपाल ल्याउने तयारी भइरहेको अवस्थामा सो ट्रक पक्राउ परेको अधिकारीलाई उदृत गर्दै भारतीय पत्रिका द हिन्दुले जनाएको थियो । भारतबाट तस्करी भएको यो कपाल म्यानमार हुँदै थाइल्यान्ड पुग्छ । त्यहाँबाट यसलाई तयार गरेर चीन पठाइने गरेको बताइएको छ ।
चीनमा ‘विग’ बनाउने कारोबार
अधिकारीहरुका अनुसार तस्करी गरिएको कपालबाट चीनमा विग बनाइन्छ जसलाई विश्वभर बिक्री गरिन्छ । विज्ञहरुका अनुसार विग बजारमा चीनको मात्र ७० प्रतिशत हिस्सा छ । भारतका केही मन्दिरहरुमा कपाल चढाउने प्रथा भएकाले यहाँ सहज रुपमा कपाल उपलब्ध हुन्छ ।

भारतमा टाउकोको कपाल सबैभन्दा धेरै तिरुपति मन्दिरमा नै दान गरिन्छ । यहाँ दैनिक ५० हजार श्रद्धालु दर्शन गर्न आउने गरेका छन् । यीमध्ये कम्तिमा पनि एक तिहाइले आफ्नो कपाल दान गर्छन् । आर्थिक वर्ष २०२०–०२१ मा टीटीडीले कपाल बेचेर मात्र १३१ करोड कमाएको थियो । टीटीडीको वार्षीक बजेट करिब तीन हजार करोड छ ।

सबैभन्दा धेरै कपाल बेच्छ टीटीडी
पहिले प्रत्येक महिना तिरुमलामा लिलामीमार्फत् मुन्डन गरिएको कपाल बिक्री गरिन्थ्यो । तिरुमलाबाट कपाललाई तिरुपतिको भन्डारमा लगिन्छ । त्यसपछि कपाललाई ५ श्रेणीमा विभाजन गरी रंग र लम्बाइका आधारमा लिलामी गरिन्छ । तर, अहिले तीन महिनामा एक पटक मात्र लिलामी हुने गरेको खुलेको छ ।

टीटीडीको आधिकारीक भनाइ अनुसार सन् २०१९ मा उसले कपाल बिक्री गरेर ७४ करोड आम्दानी गरेको थियो । २०१९ को डिसेम्बरमा ५४ हजार ५ सय किलो कपाल ३७ करोड २६ लाखमा लिलाम भएको थियो ।

के हो विवाद ?
विपक्षी तेलुगूदेशम् पार्टीले म्यानमारको सीमाबाट मुन्डन गरिएको कपाल पक्राउको जिम्मेवारी टीटीडीका अधिकारीले लिनुपर्ने बताएको छ । यस विषयमा जाँच गरेर यसमा जोडिएकाहरुलाई कारबाही गर्न माग गरेको छ । टीटीडीले सुरुमा लिलामीमा ठेक्का दिइसकेपछिको कुरा आफूहरुलाई जानकारी नहुने जनाएको थियो ।

पछि उसले तस्करी गर्ने कम्पनीको नाम पत्ता लागेमा त्यसलाई कालोसूचीमा राख्ने बताएको छ । टीटीडीमार्फत् नै कपाल तस्करी हुने गरेको सामाजिक सञ्जालमा मानिसहरुले दाबी गरिरहेका छन् । प्रहरीले टीडीपी पार्टी र अन्य केही व्यक्तिहरुविरुद्ध मुद्दा दायर गरेर अनुसन्धान गरिरहेको छ । बीबीसी हिन्दी