भारतमा निर्माण भएको दुई सेट रेल भोलि जनकपुर आइपुग्ने भएको छ । दुई वर्षअघि नै संचालन हुने भनिएको जनकपुर–जयनगर रेल भोलि मध्याह्न रेल्वे विभागलाई हस्ततान्तरण गर्ने महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
उनका अनुसार रेल परीक्षणपश्चात् फेरि संचालन नहुन्जेल सुरक्षितका साथ जयनगरमा राखिनेछ । निर्माण सम्पन्न भई हाल भारतको पटनास्थित हाजीपुर स्टेसन राखिएको रेल जनकपुर आइपुग्न चार घण्टा लाग्ने उनले बताए । रेल आउने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलगायतका टोली जनकपुर आउने महानिर्देशक मिश्रले बताए ।
पहिलो चरणमा भारतको कुर्थादेखि जनकपुरसम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ । दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालोगिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको उनले बताए । रेल सेवा सञ्चालनको लागि यही साता विभागले करारमा कर्मचारी भर्नाका लागि आवेदनसमेत आह्वान गरेको छ ।

