आजबाट बिदा भए , पुनर्नियुक्तिको छैन टुंगो
जनताको मनमा बस्न सफल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल सोमबार पूरा गरेर बिदा भएका छन्। मंगलबार प्राधिकरणमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङ बिदा भएका हुन्। घिसिङ २०७३ भदौ २९ गते चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका हुन्। सरकारले उनलाई पुनः कार्यकारी निर्देशकको रुपमा नियुक्त गर्ने चर्चा चलिरहेका बेला उनले एउटै व्यक्ति एउटा जिम्मेवारीमा सधै रहिरहनुपर्छ भन्ने नभएको बताए। उनले केही पनि विकल्परहित नरहेकोसमेत प्रष्ट पारे।
उनले भने – ‘हिजो विद्युत प्राधिकरणमा को आयो को गयो कसैलाई थाहा हुँदैन थियो। अहिले कार्यकारी निर्देशकको पोष्टको चर्चा आएपछि प्राधिकरणको इज्जत बढेको ठान्नु पर्छ। यो विषय हाम्रो लागि राम्रो हो’, बिदाइ भाषणमा घिसिङले भने, ‘कार्यकारी निर्देशक आउने जाने हुन्छ। एउटा व्यक्ति सधै रहिरहनुपर्छ भन्नेमा म छैन। विकल्परहित केही हुँदैन।’

घिसिङले प्राधिकरणमा आफू रहदा हिजोको भन्दा बढी काम भएको बताए। उनले कर्मचारीलाई सुविधा बढाउनेदेखि अन्धकार नेपाललाई उज्यालो नेपाल बनाएको विषयको सम्झना गरेका छन्। ‘प्राधिकरणमा म नहुँदा नेतृत्व गर्न योग्य व्यक्ति हुनुहुन्छ। लिडरसीपले मोटिभेसन गर्नुपर्छ। हिजोको भन्दा हामीले केही राम्रो गरेका छौँ। त्यसको इन्टेन्सिप पाएका पनि छौँ।
कर्मचारीको वृत्तमा पनि केही सुविधा भएका छन्। अगामी दिन प्राधिकरणको लक्ष्य एकदम सुन्दर छ’, घिसिङले भने। बिदाइका क्रममा लिखित भाषण गर्दै घिसिङले आफूलाई सहयोग गर्ने सबैको सम्झना गरेका छन्।
