गएको शुक्रवार भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ९ स्थित निकोसेरामा एउटा घरभित्र घरधनी ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी तथा घरमा पालिएको सेतो रङको कुकुरको शव भेटिएपछि रहस्यमय बनेको घटनाको कारण नजिक प्रहरी पुगेको छ । प्रहरीले संकलन गरेका विभिन्न प्रमाणहरुका आधारमा सो घरमा भएको विभत्स घटना सोही घरका घरधनी ३६ वर्षीय सुदीप अधिकारीबाटै भएको बलियो प्रमाण घटनास्थल, केस हिष्ट्रि र प्राप्त सबुत प्रमाणहरुले पुष्टि भएको छ । शुक्रबार साँझ करिब ५ बजेतिर सुदीपका भाई मासु पुर्याउनको लागि दाईको घरमा जाँदा यो विभत्स घटना भएको पत्ता लागेको हो। आधा धोका खुलेको घरभित्र पसेपछिको विभत्ष दृश्य देखेपछि उनले चिच्याउँदै प्रहरी गुहारेका थिए । घटना थाहा हुनेबित्तिकै महानगरीय प्रहरी परिसर भक्तपुर, अपराध महाशाखा र सिआईबीको टोली घटनास्थल पुगेको थियो। त्यसपछि छिमेकी र जनप्रतिनीधि घटनास्थल पुगेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक सुदीप अधिकारीले ऋणको बोझमाथि थपिएको बेराजगारी , दिनहुँजसो हुने गरेको पारिवारीक किचलो खप्न नसकेर आफ्नै परिवारको हत्या गरी कुकुरलाई समेत विष खुवाई आफूले पनि विष पिएको हुनसक्ने निष्कर्ष निकालेको छ । प्रहरीले घटनास्थल भएको निजहरुकै घरमा भेटिएको शवको प्रकृति र शरीरका घाउचोटपटक हेर्दा घटना केहि योजना बनाएर मृतक सुदीपले नै घटाएको हुनसक्ने बताएका छन् ।भेटिएका प्रमाणबाट बाहिरी मानिसको संलग्नता नरहेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ तर अनुसन्धान भने अझै जारि छ। ऋणको बोझका कारण सुदिप निकै तनावमा रहेको, छोरालाई उसले भनेको जस्तो विषय पढाउनपर्ने बाध्यता, जारी लकडाउन र निषेधाज्ञाका कारण पछिल्लो ६ महिनादेखि चौपट भएको व्यापार, श्रीमतीसँग रातोदिन झै-झगडा हुनु, अत्याधिक मदिरा सेवन गर्ने उनको आदत जस्ता कारणले उनले छोरा र श्रीमतीको हत्यापछि आफूले समेत आत्महत्या गरेको निष्कर्षनजिक प्रहरी पुगेको छ ।

