मकवानपुरको मनहरी गाउँपालिकामा एक वडाध्यक्षकी आमालाई तीन वटा वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण भएको पाइएको छ।
मनहरी गाउँपालिका वडा नम्बर १ की वेदमाया खनालको नाममा आर्थिक वर्ष २०७५÷७६ को अन्तिम चौमासिक र आर्थिक वर्ष २०७६÷७७ को पहिलो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता (वृद्धा भत्ता) वडा नम्बर १, ३ र ७ बाट भुक्तानी भएको पाइएको हो।
तीन वटै वडाबाट एउटै व्यक्तिको खातामा दोस्रो पटक सामाजिक सुरक्षा भत्ता भुक्तानी भएको पाइएपछि बैंकले पालिकालाई खबर गरेको थियो। बैंकले जानकारी गराएपछि दोस्रो पटक लाभग्राहीको खातामा गएको रकम रोक्का गरेर पालिकाले लाभग्राहीलाई बढी भुक्तानी भएको रकम दाखिलासमेत गराइसकेको मनहरी गाउँपालिका जनाएको छ।

गाउँपालिकाकी लेखा अधिकृत संगीता अधिकारीले भनिन्, ‘३ नम्बर वडाबाट वडा नम्बर १ मा बसाइँ सरेर गएकोले पुरानो लगतकट्टा नहुँदा दुई वटा वडाबाट सामाजिक सुरक्षा भत्ता गएको भए सामान्य समस्या भयो भन्ने हुन्थ्यो, तर वडा नम्बर ७ बाट पनि भुक्तानी भएकोले के समस्या भएको भन्नेमा हामी नै आश्चर्यमा परेका छौं।’
अख्तियारमा उजुरी, छानबिन हुन्छ : अध्यक्ष
ती वडाध्यक्ष शिव खनालकी आमाको नाममा यसरी भत्ता गएको थाहा पाएपछि अहिले मनहरीका युवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन्।
भुक्तानीमा समस्या भए पनि समस्या समाधान भइसकेको विषयमा स्थानीय युवाको चासो देखिएपछि मनहरी गाउँपालिकाले छानबिन गर्न समिति बनाउन लागेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए।
वडाध्यक्ष खनालले आमाको नाममा तीन वटा वडाबाट भुक्तानी भएको थाहा पाएपछि गत आर्थिक वर्षमै बढी भुक्तानी भएर आएको रकम पालिकाकै खातामा दाखिला गरिएको बताए।
गाउँपालिकाले बढी भुक्तानी भएर आएको भन्ने जानकारी गराएपछि बढी भुक्तानी भएर आएको १६ हजार रुपैयाँ पालिकाकै खातामा जम्मा गरिदिएको वडाध्यक्ष खनालले बताए
