मानव तस्करलाई संरक्षण गरेको आरोप लागेका गैरआवासीय नेपाली संघ (एनआरएनए)का तीन जना पदाधिकारीलाई निलम्बन गरिएको छ । योहो टेलिभिजनबाट समाचार सम्र्पेषण भएलगत्तै गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद युएईले तीन पदाधिकारीलाई निलम्बन गरेको हो ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, यूएईले आफ्ना तीन पदाधिकारीलाई निलम्बन गरेको छ । संस्थाका अध्यक्ष प्रकाश कोइरालाले बिहीवार विज्ञप्ती जारी गरी एनआएरएन युएईका उपाध्यक्ष नरेश सेन, क्षेत्रीय अध्यक्ष भीम मल्ल ठकुरी, उपाध्यक्ष निराजन खत्रीलाई निलम्बन गरेको जनाएको हो ।
निलम्बन भएकामध्ये क्षेत्रीय अध्यक्ष मल्ल र उपाध्यक्ष खत्रीलाई मानव तस्करलाई संरक्षण गरेको आरोप लागेको छ । यस्तै एनआरएनए युएईका उपाध्यक्ष सेनले संस्थामा कुनै परामर्श नगरी विज्ञप्ती जारी गरेको आरोप लगाइएको छ । केहीदिन अघि युके लैजाने भन्दै जनही नौ नौ लाख लिएर युएईमा ६३ नेपालीलाई अलपत्र पारेको समाचार बाहिरिएको थियो । मानव तस्करको आरोप लागेका श्याम थापाले यूएईमा अलपत्र मनोहर केसी र टिकाराम बोहोरालाई गुण्डा लगाएर रक्ताम्मे हुने गरी कुटपिट गरेका थिए । यो समाचार योहो टेलिभिजन एचडीमा प्रसारण भएको थियो । एनआरएन युएईका क्षेत्रिय अध्यक्ष भीम मल्ल ठकुरी र उपाध्यक्ष निराजन खत्रीकै उपस्थितिमा कुटपिट गरेको पीडितको आरोप रहेको छ ।

काठमाडौँको चत्रपथ स्थित तिनजुरे इम्प्लोइमेन्ट सर्भिसेज प्रालिकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारीले युएईमा बस्ने श्याम थापासँग मिलेर नेपाली युवालाई ठगी गरेको आरोप छ । उनीहरुले बनाएका कागजपत्र समेत नक्कली रहेको खुलेको छ ।
भिषा र अफर लेटर समेत नक्कली खडा गरी उनीहरुले ती युवालाई झुक्काएर दुबई पु¥याएका थिए । अलपत्र परेपछि पीडितले पासपोर्ट फिर्ता दिन र घर फकाईदिन माग गरेका थिए । तर घर फकाईदिनुको साटो मानवतस्कर थापाले उनीहरूलाई गुण्डा लगाएर कुटपिट गरेका थिए । कुटिएका मनोहर केसी र टिकाराम बोहोरा सहित अन्य पीडित अहिले युएईमै छन् । उनीहरुको समस्याका विषयमा नेपाली राजदूतावासले विज्ञप्ती जारी गरी आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
