शनिबार राति १२ः०० बजेदेखि मंगलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालयले बाँके जिल्ला सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकमा समेत हिँडडुल गर्न नपाइने बताइएको छ । जीवन रक्षाका लागि भन्दै कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा उक्त क्षेत्र सिल गरेको जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सिल गरेको उक्त क्षेत्रमा भने नेपाली सेनाले निगरानी गर्नेछ । नेपाली सेनाको टोलीले सिल गरिएको उक्त क्षेत्रमा २४ घण्टा उच्च निगरानी बढाएको छ । सिल गरिएको क्षेत्रको अनुगमनमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख बिहानदेखि नै सडकमा खटिनुभएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेपालगञ्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकदेखि चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाउँ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्लाभित्रको क्षेत्र पूर्णरुपमा सिल गरेको हो ।

