नगरपालिकाको नाम अयोध्यापुरी राख्नुहोस् : प्रधानमन्त्री ओली

विविध

चितवनको माडी नगरपालिकालाई अयोध्यापुरी नामाकरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ ।

पर्षा र चितवनको सिमा क्षेत्र पर्ने ठोरी र माडी क्षेत्र रामको जन्मभूमि रहेको बताउनुभएका प्रधानमन्त्री ओलीले सो क्षेत्रको नगरपालिकाको नाम नै परिवर्तन गर्न माडी नगरका जनप्रतिनिधिलाई निर्देशन दिनुभएको हो ।

आज प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार छलफल गर्दै ओलीले पहिलो काम नगरपालिकालाई अयोध्यापूरी नामाकरण गर्ने सुझाउनुभएको भेटमा सहभागी माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो ।

साथै प्रधानमन्त्री ओलीले २०७८ सालको दशैँमा उद्घाटन गर्ने गरी विशाल राम मन्दीर निर्माण सुरु गर्न पनि आग्रह गर्नुभएको छ । मेयर ढकालले प्रधानमन्त्री ओलीले रामको जन्मभूमि नेपाल हो भनेर यत्तिकै नबोलेको र आफूसंग पर्याप्त प्रमाण रहेको भन्दै ढुक्क हुन आग्रह गरेको बताउनुभयो ।

अयोध्याका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले नै टेलिफोन गरी स्थानीय तहका जनप्रतिनिधिहरुलाई काठमाडौँ बोलाउनुभएको थियो ।