हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी अस्पतालमा आइतबारदेखि निःशुक डायलासिस सेवा शुरु भएको छ ।
यसबाट मिर्गौला पीडितले नियमित डायलासिस गर्न जिल्ला बाहिरका सरकारी र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरणसहित तालीम प्राप्त चिकित्सकको व्यवस्था गरेर सेवा शुरु गरेको हो । आइतवार दुई मिर्गौला पीडितले सेवा लिएका छन् । गण्डकी प्रदेशले उपलब्ध गराएको ४ वडा उपकरण र प्रवासी म्याग्देलीले दिएको दुईवटा मेशिन रहेको अस्पतालमा हेमोडायलासिस युनिटको सेवा शुभारम्भ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटवालले जानकारी दिए ।
डायलासिस यूनिटमा दुई चिकित्सक र चार जना स्टाफ नर्स कार्यरत छन् । युनिटलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार तथा व्यवस्थापनमा प्रदेश सरकारबाट प्राप्त बजेटबाहेक अस्पतालको आन्तरिक स्रोतलाई समेत परिचालन गरिएको छ । पहिलो चरणमा तीन वटा शैया सञ्चालन गरिएको छ ।

एकदिनमा छ जना बिरामीले सेवा लिन सक्नेछन् । छ वटा उपकरणबाट दुई पटक १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने भए पनि तत्काल दुईवटा पुरानो मेशिन भएकाले सञ्चालनका लागि केही उपकरणको अभाव रहेको अस्पतालका प्रमुख डा. अमृत अधिकारीले बताए।
जिल्लामै डायलासिस सेवा आउने भएपछि हालसम्म १५ जना सम्पर्कमा छन् । उनका अनुसार परीक्षण सेवाको रुपमा केही दिन सञ्चालन गरिने र औपचारिक उद्घाटन गरी सेवालाई थप प्रभावकारी बनाइने जनाइएको छ । अपाङ्गमैत्री भवन भएकाले उपचारमा सहज हुने बताइएको छ । अस्पतालमा उपचारका लागि आउने विपन्न बिरामीलाई डायलासिस सेवाले सहज हुने भएको छ । मिर्गौला पीडित बिरामी अधिकांशको न्यून आर्थिक अवस्थाका हुने भएकाले यातायात, खान बस्ने खर्चको अभावमा गाउँमै रोग पालेर बस्न बाध्य भएको अवस्थामा डायलासिस सेवाले सहज भएको मिर्गौला पीडित पार्वती विकले जानकारी दिए।
उपचारका लागि बाहिर जान नसक्ने अवस्थाका धेरै बिरामी छन् । “यो सेवाले बिरामीलाई वरदान सावित भएको छ । अब धेरै बाँच्ने आशा पलाएको छ ।” उनले भने। मिर्गौला पीडितले प्रत्यारोपणबाहेकको सेवा जिल्लामै पाउने भएपछि मिर्गौला प्रत्यारोपण गरेकाले समेत प्रचारप्रसार गर्ने बताएका छन् ।
