गुणस्तरीय शिक्षामा जोड दिन सरकारको ध्यानाकर्षण

विविध

काठमाडौं, ३ जेठ । शिक्षाविद्हरुले गुणस्तरीय शिक्षामा जोड दिन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । शिक्षाविद् डा. सुरेशराज शर्मा र केदारभक्त माथेमाले गुणस्तरीय शिक्षामा जोड दिन सरकारलाई सुझाव दिनु भएको हो ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका पूर्व उपकूलपति समेत रहनु भएका शर्माले शिक्षण संस्थाहरुले बेरोजगारहरुको उत्पादन गरिरहेकाले सरकारले त्यसलाई गुणस्तरीय बनाउन जोड दिनुपर्ने स्पष्ट पार्नु भयो । उहाँले विश्वविद्यालयलाई सरकारले नियन्त्रण गर्न नहुने पनि बताउनु भयो ।शिक्षाविद् एवम् त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले विश्वविद्यालय आफैलाई अपनत्व अनुभव हुने गरी आवश्यक संरचना निर्माण गर्न सरकारसँग माग गर्नु भयो । उहाँले विश्वविद्यालयको नियमनका लागि छुट्टै निकाय गठन गरे त्यो बढि प्रभावकारी हुने तर्क पनि गर्नु भयो । सरकारको नियन्त्रणमा रहेकै कारण नेपालका विश्वविद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसकेको शिक्षाविद् माथेमाको तर्क छ ।शिक्षाविद्हरुले विश्वविद्यालयको शिक्षा खस्कनुमा राजनीतिक हस्तक्षेप मुख्य कारण रहेको पनि औंल्याएका छन । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति महेशकुमार शर्माले विगतमा राजनीतिक हस्तक्षेप भएकै कारण विश्वविद्यालय तहको शिक्षा उपलब्धिमूलक हुन नसकेको स्पष्ट पार्नु भयो ।